
प्रतिनिधिसभामा प्रस्तुत संवैधानिक परिषद्सम्बन्धी विधेयकको प्रावधानमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले असहमति जनाएपछि संसदीय समिति गठनको काम पनि प्रभावित भएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा एमालेले संवैधानिक परिषद्को प्रावधानमा असहमति जनाएपछि समिति गठन भोलि (बिहीबार) सम्मका लागि रोकिएको हो । संसद्मा प्रस्तुत विधेयकको दफा १० मा परिषद्को अध्यक्ष र ५० प्रतिशत सदस्यको उपस्थिति भए निर्णय गर्न सकिने व्यवस्था छ ।
तर एमालेले भने यो प्रावधानमा असहमति जनाएको छ । एमालेले परिषद्को बहुमत सदस्यले निर्णय गर्ने प्रावधान राख्नु्पर्ने अडान राखेको छ । प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ ।