२१ बैशाख २०८१, शुक्रबार

मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउने कसरतमा मन्त्रीहरु

nijammatikarmacharaaia

मन्त्रीले सचिव रोज्ने प्रवृत्ति फेरि पुनरावृत्ति हुने देखिएको छ । केही मन्त्रीहरू मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लबिङ गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ । निजामती प्रशासनमा सचिव व्यवस्थापन हचुवामा हुँदा त्यसले सिंगो प्रशासन संयन्त्रलाई कमजोर बनाएको र सरकारको कार्यसम्पादनमा समेत ह्रास आएको विज्ञको भनाइ छ ।

सचिवहरूको व्यवस्थापन गर्ने दायित्व मुख्य सचिवको हो । सामान्यतया मुख्य सचिवले प्रधानमन्त्रीसँग समन्वय गरी सचिवहरूको व्यवस्थापन गर्नुपर्छ तर मन्त्रीहरूले सीधै प्रधानमन्त्रीसँग लाइन मिलाएर सचिव ल्याउने गर्दा मुख्य सचिव कमजोर बन्ने गरेका छन् । अहिले पनि केही मन्त्रीहरू प्रधानमन्त्रीसँग लाइन मिलाएर आफू अनुकूलका सचिव ल्याउने गृहकार्यमा जुटेका छन् ।

विगत केही दिनदेखि गृह मन्त्रालय र अर्थ मन्त्रालयमा नयाँ सचिव आउने हल्लासँगै दुवै मन्त्रालयको प्रशासनिक कार्यमा सुस्तता देखिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिवमा आफू अनुकूलको सचिव ल्याउन प्रधानमन्त्री प्रचण्डसमक्ष माग राखिसकेको स्रोतको दाबी छ । यद्यपि,गृहमन्त्रालयमा आउन केही सचिवहरू आफैं पनि दौडधूपमा लागेका छन् ।

स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठ गृहसचिवमा लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई ल्याउने गरि गृहकार्यमा लागेका छन् । उपनिर्वाचनअघि नै मन्त्रालयमा गृहसचिव परिवर्तन गरिने हल्ला चलाइएको थियो । तर, उपनिर्वाचन पछि गर्ने भन्दै केही समय रोकिएको थियो । स्रोतका अनुसार गृहमा जान केही समयदेखि लोकसेवा आयोगका सचिव श्रेष्ठ तथा महालेखा नियन्त्रक हरि मैनालीलगायत दौडधूपमा लागेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि सचिव फेर्न दबाब छ । अर्थ सचिव बन्न अन्य केही सचिवहरू दौडधूपमा लागिरहेका छन् । स्रोतका अनुसार अर्थ सचिव बन्नका लागि वाणिज्य सचिव मधुकुमार मरासिनी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्कर तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचि अर्जुन प्रसाद पोखरेल दौडधूपमा लागेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...