१२ बैशाख २०८१, बुधबार

अपडेट : सिद्धबाबा दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइयो

accident

बुटवल –तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा घाइते भएका पाँच जनालाई काठमाडौं पठाइएकाे छ।

पाल्पाबाट बुटवल आउँदै गरेको हाइलेक्स गाडी सिद्धबाबामा दुर्घटनामा परेको हो। अपरान्ह साढे ४ बजेतिर भएको दुर्घटनामा भएको थियो।

दुर्घटनामा घाइते भएका छ जनामध्ये पाँच जनाको स्वास्थ्यावस्था गम्भीर रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिकाका हुन् । दुर्घटनाका घाइते तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल र बालकृष्ण बस्याललाई काठमाडौं सिफारिश गरिएको छ भने कृष्ण बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइतेको उमेर अन्दाजी ३५ देखि ४५ वर्ष रहेको जनाइएको छ । प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको डबल क्याप जीप सडकबाट तिनाउ नदीमा खसेको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ । केही दिनअघि पनि सिद्दबावाबाटै अर्को कार तिनाउ नदिमा खस्दा १ जनाको मृत्यु भएको थियो ।