१७ बैशाख २०८१, सोमबार

कोरोना अवधिको ब्याज, हर्जाना र पेनल छुट गरिदिन निगमको आग्रह

nepal airlines

नेपाल वायु सेवा निगमले कोरोना महामारी अवधिको ब्याज, हर्जाना र पेनल छुट गरिदिने कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले छुटका लागि दुवै कोषलाई पत्र पठाएको र त्यससम्बन्धमा छलफल भइरहेको जानकारी दिएका हुन् । साथै निगमले किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन पनि आग्रह गरेको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा प्रतिकुल असर परेकाले उक्त अवधिको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन निगमले अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफलसमेत भइरहेको छ ।’

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार हुँदै गएको विज्ञप्तिमा दाबी गरिएको छ ।

निगमले गत असार महिनायता २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको छ । गत चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋणबापत निगमले ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको जनाएको छ ।

त्यसअघि कोषले असारमा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको थियो ।

    सम्बन्धित समाचार...