२१ बैशाख २०८१, शुक्रबार

चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

bishes adalat court

विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध दायर भएको १० अर्ब राजस्व चुहावट मुद्दामा सरकारी साक्षीलाई बुझ्ने आदेश गरेको छ ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार अन्तिम फैसलाअघि साक्षी बुझ्ने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगमार्फत् राजस्व हिनामिना गरेको भन्दै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं आयोगका सदस्यसचिव चूडामणि शर्मा, आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले १ साउन २०७४, १५ माघ २०७४ र ९ असार २०७८ मा तीन किस्तामा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसअघि विशेषले निवेदक र विपक्षसँग बहस नोट माग गर्ने आदेश गरेको थियो ।

कर फछ्र्यौट आयोगले कर छुट दिनसक्ने वा नसक्ने विषयमा संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले विशेषले बहस नोट माग गर्ने आदेश गरेको थियो ।

कर फछ्र्यौट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्माविरुद्ध अख्तियारले ९ असार २०७८ मा १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

महत, ढकाल र शर्माले २१ माघ २०७१ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ ।

करदाताहरूसँग कर फछ्र्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।

करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकामा कर फछ्र्यौट आयोगका पदाधिकारीले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिनेगरी सम्झौता गरेर मनोमानी किसिमले बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...