२३ बैशाख २०८१, आईतवार

चित्रबहादुरको कटाक्ष- खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

chitrabadhur kc

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै केसीले त्यो काम स्वीकार्य हुनै नसक्ने धारणा राखे । प्रतिनिधिसभा बैठकमा आइतबार अध्यक्ष केसीले सात दिनको बोलपत्र आह्वान गरेर ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्षम्य रहेको दाबी गरे । लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाड्न नहुने केसीको भनाइ छ ।

‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिई आपत्तिजनक छ । एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्वीकार्य छ । त्यसमाथि यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्डभन्दा घटाएर जम्मा सात दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्ष्यम्य छ,’ उनले भने, ‘देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन । जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ । पुराना पार्टीहरुले नै गल्ती गरेका थिए ।’

अध्यक्ष केसीले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरे पनि उनीहरुले पुरानै गल्ती दोहोर्‍याउने काम गरिरहेको दाबी गरे । ‘उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे । नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्ख परेर हेरिरहेका थिए । खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसकारणले यस्ता प्रवृत्तिलाई चाहिँ त्यसै छोड्न हुन्न,’ केसीले लामिछानेप्रति कटाक्ष गर्दै भने ।

    सम्बन्धित समाचार...