१३ बैशाख २०८१, बिहीबार

जता जता दयाहाङ राई उतै उतै नेपाली फिल्म क्षेत्र

dayahang rai

जेठको पहिलो साताबाट निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने फिल्म ‘दिमाग खराब’को छायांकन सुरु गर्ने तयारी गरेका छन् । यो फिल्मका लागि उनलाई नायक दयाहाङ राईको समय चाहिएको छ । तर, निर्देशक रामबाबु गुरुङ पनि फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गर्न चाहन्छन् । यदि, रामबाबुले यो फिल्मको छायांकन सुरु गरेपनि निश्चलले केही समय कुर्नुपर्ने हुन्छ । उसो भए के त ?

रामबाबुलाई निश्चलले आग्रह गरेपछि दयाहाङसँग रामबाबु केही महिनापछि मात्र ‘डिग्री माइला’ निर्देशन गर्ने निर्णयमा पुगे । किनकी, उनले निर्माण गरेको फिल्म ‘जारी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

नायक दयाहाङ राईको बैशाख १ गते फिल्म ‘बिहे पास र जारी’ रिलिज भए । तर, फिल्म रिलिज भैरहँदा वा यसको प्रमोशनको क्रममा दया फिल्म ‘नांगो गाउँ’को छायांकनका लागि काभ्रेमा थिए । यसैले, उनले यी दुबै फिल्मका लागि निकै गाह्रोसँग समय मिलाए ।

निर्माता किरण नेपालीले दयालाई फिल्म ‘हात्तीछाप’मा साइन गरेको केही महिना भैसक्यो । फिल्म ‘नांगो गाउँ’को छायांकन सकिएपछि उनी आफ्नो फिल्मको छायांकन सुरु गर्न चाहन्छन् । तर, निश्चलले फिल्म ‘दिमाग खराब’को छायांकन सुरु गर्ने भएपछि उनको योजनामा ब्रेक लाग्न सक्छ ।

यी त दयाहाङका तयार हुने क्रममा रहेका फिल्म हुन् । रामबाबुले फिल्म ‘कबड्डी ५’लाई पनि निर्देशन गर्ने तयारी गरिरहेका छन् ।

गतबर्ष ४ वटा फिल्म हिट दिएका दयाहाङको यो बर्षकै सुरुवातमा ‘जारी’ सुपरहिट भैसकेको छ । दयाको लाइनअप हेर्दा कुनै पनि फिल्म असफल होला भनेर सोच्न सकिदैन ।

फिल्म ‘लुट’मा काम गरेपछि दयाहाङ राइको फिल्म क्षेत्रमा एकाएक उदय भएको हो । यो बिचमा उनले नायक आर्यन सिग्देल र जीवन लुइटेलको चकलेटी अनुहारसँग केही बर्ष प्रतिस्पर्धा गरे । फिल्म ‘मेरो एउटा साथी छ’मा आर्यन मुख्य नायक भएर काम गर्दा दया सहायक–कलाकार थिए ।

तर, यो एक दशक सकिएर अर्को दशक सुरु हुँदै गर्दा आर्यन बक्स अफिसमा संघर्ष गरिरहेका छन् भने दयाहाङ राई सुपरस्टार बनेका छन् । आर्यन र जीवनपछि दयाहाङको प्रतिस्पर्धा अनमोल केसी, प्रदीप खड्का, पल शाह जस्ता चकलेटी नायकहरुसँग सुरु भयो । तर, ७० को दशक सकिएर ८० को दशक सुरु हुँदा दयाहाङ राइको पछि पछि फिल्म क्षेत्र दौडिएको छ ।

आजका दिनमा चकलेटी नायकहरु बक्स अफिसमा संघर्ष गरिरहँदा दयाहाङ राइले दर्शकलाई फिल्मको स्वाद नै फेरिदिएका छन् । गतबर्ष रिलिज भएका ‘कबड्डी ४, २ नम्बरी, के घर के डेरा, फूलबारी’ र यो बर्ष रिलिज भएको ‘जारी’को कथावस्तु हेर्दा अब फिल्म क्षेत्रमा काल्पनिक कथा होइन, आफ्नै समाजको कथा बिक्छ भन्ने पुष्टी भैसकेको छ । यो दयाहाङ राई र उनको टिमको कथा भन्ने शैलीले आएको परिवर्तन हो ।

यसो भनिरहदा दयाहाङ राई एक्लै सफल भएका भने होइनन् । नेपाली फिल्मका चकलेटी नायकहरु एकल रुपमा अगाडि बढिरहँदा दयाहाङ राइसँग बलियो टिम छ । रामबाबु गुरुङ, उपेन्द्र सुब्बा जस्ता अर्गानिक कथा भन्ने मेकर उनका मुख्य सारथी हुन् । साथमा, उनीसँगै निश्चल बस्नेत, दीपेन्द्र के खनाल, दीपेन्द्र लामा जस्ता दर्शकले पत्याएका निर्देशकको साथ छ । जसको कथा र दिमागमा दयाहाङ राई आफ्नोपन झल्कने अभिनय गर्छन् र दर्शकलाई यस्तै फिल्म हेर्ने हुटहुटी बढाइदिन्छन् ।

पछिल्लो परिस्थिती हेर्ने हो भने नेपाली फिल्मले अब केही बर्ष दयाहाङ राइको पछि–पछि दौडनुको विकल्प नै छैन । किनकी, ‘जारी’ जस्तो सामान्य कथामा उर्लिएको भेल हेर्दा दयाहाङ राईसँग दर्शकको आत्मियता बलियोसँग गासिएको छ ।

दया फिल्मी पर्दामा जस्ता छन्, बाहिरी दुनियाँमा पनि त्यस्तै छन् । यसैले, दर्शकले पर्दामा दयाको अनुहारमा आफ्नो समाज, भेषभुषा, कला र संकृती र भाषा भेट्छन् । कृत्रिम दुनियाँबाट आफूलाई अलग्गै राखेका कारण पनि दया र उनका फिल्ममा दर्शकको मन बसेको हो । यसलाई एकैचोटी हटाउन अब चकलेटी नायकहरुलाई सहज छैन ।

    सम्बन्धित समाचार...