२१ बैशाख २०८१, शुक्रबार

आफैँले बोलाएको तीन दलको बैठकमा प्रधानमन्त्री नगएपछि एमालेको आपत्ति

oli prachanda deuba

प्रमुख तीन दलको बैठक बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँ उपस्थित नभएपछि प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बिहान ९ बजे कांग्रेस, एमाले र माओवादीको बैठक बस्ने तय भएको थियो । ९ बजे बैठक बोलाइए पनि ९ : २० मा प्रधानमन्त्री दाहालले आज बैठक बस्न सम्भव नभएको भन्दै जानकारी गराएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा सहभागी हुन सभामुख देवराज घिमिरेलगायतका एमाले नेताहरु बालकोट पुगिसेका थिए । तर, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भने उपस्थित नभएको सचेतक बर्तौलाले जनाए ।

संसदमा विचाराधिन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरुबीच छलफल भएर अगाडि बढ्नु पर्ने अवस्था रहेकोमा सत्ता पक्ष भने छलफलबाट भागेको उनको भनाइ छ ।

एमाले छलफल र संवादका लागि सदैव तयार रहेको उल्लेख गर्दै सचेतक बर्तौलाले भने, ‘तर सरकारकै नेतृत्व भने आफैँले बैठक बोलाएर बैठकप्रति उदासिन हुनु र छलफल संवादलाई प्राथमिकता नदिनु दुःखद विषय हो ।’

उनले अगाडि थपे, ‘उहाँहरु देशकासामू उभिएका ज्वलन्त मुद्दाहरुलाई निष्कर्षमा पु¥याउन सकारात्मक हुनुहुुन्न र प्रचार एउटा गर्ने अनि काम चाहिँ अर्कै गर्दै हुनुहुन्छ भन्ने कुरा यसले पनि प्रष्ट गराउँछ ।’

यसअघि गत चैत २८ गते सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताबीच सभामुख निवास बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा नेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्यइ बनाउने सझदारी बनेको थियो ।

नेताहरुबीच फेरि बैठक बसेर यस सम्बन्धमा संयुक्त समिति र अन्य समितिको नेतृत्व तथा प्रतिनिधित्व सहमतिमा टुंगो लगाउने समझदारी भएको थियो । उक्त छलफलमा बैशाख १ गते सिंहदरबारमा बैठक बस्ने तय भए पनि स्थगित भएको थियो ।

त्यसअघि चैत २५ गते बसेको तीन दलको बैठकमा टीआरसी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न प्रतिपक्षी एमालेले असहमति जनाएको थियो । संसदीय समितिमा छलफल गरेर मात्रै उक्त विषयमा सहमति जुटाउन एमालेलेको अडान छ ।

    सम्बन्धित समाचार...