५ जेष्ठ २०८१, शनिबार

परराष्ट्रमन्त्रीमा एनपी साउद, आजै शपथ लिँदै

np saud

प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले आज आठौँ पटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। आज सरकारमा सामेल हुने अन्य मन्त्रीहरुको भने टुंगो लागिसकेको छैन । नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे राखिएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार नेपाली कांग्रेसले अर्थसहित आठ मन्त्रालय पाएको छ । जसअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का नेतृत्वमा चार जना मन्त्री सरकारमा गइसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री दाहाललाई दिएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमण अगाडि परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो । दाहालले बैशाख तेस्रो सातासम्म भारत भ्रमण गर्ने तयारी गरेको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

प्रधानमन्त्री नियुक्त भएको चार महिना पुग्नै लाग्दा पनि दाहालले सरकारलाई पूर्णता दिन सकेका छैनन् । परराष्ट्रबाहेक अझै प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी छ ।

बाँकी मन्त्रीको टुंगो भने सम्भवतः बैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै हुने आकलन छ । हाल प्रधानमन्त्रीसहित १७ वटा सदस्यीय मन्त्रिपरिषद छ ।

    सम्बन्धित समाचार...