४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुहोस्- मेयर शाह

balen
फाइल फोटो

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंका हितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौंको हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्न पनि उनले सरकारलाई चेतावनी दिएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फ उनले अरु नै पालिकामा सिंहदरबार सार्न आग्रह गरेको हुन् । उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।’

सिंहदरबार र देशको राजधानी नै सारे पनि काठमाडौंबासीलाई आपत्ति नरहेको उल्लेख गर्दै आफूहरुलाई राजनीति नचाहिँएको जनाएका छन् । काठमाडौंबासीले सम्पदा, संस्कृति, कला, सभ्यता चाहेको मेयर बालेनको भनाइ छ ।

‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् ।’ उनले भनेका छन् । केही समयदेखि बाघदरबार र सिंहदरबारबीच दूरी बढेको छ । काठमाडौं महानगरले सिंहदरबारदेखि महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर नउठाउने निर्णय गरेका छन् । उनको निर्णयलाई लिएर प्रतिनिधि सभामासमेत वहस भइसकेको छ ।

पछिल्लो समय आफूले अगाडि सारेका योजना कार्यान्वयन हुन नसकेपछि केन्द्र सरकारले समन्वय नगरेको भन्दै मेयर शाहले सार्वजनिकरुपमै आक्रोश पोख्न थालेका छन् । विभिन्न मन्त्रालयमा पुगेर सहयोगका लागि आग्रह गरेका उनले पछिल्लो समय केन्द्र सरकार र नेता लक्षित अभिव्यक्ति दिँदै आएका छन् ।

यसअघि यही चैत २७ गते उनले १४ वटा मन्त्रालयको नाम उल्लेख गर्दै स्पष्टीकरण दिएका थिए । यस्तै वाग्मती किनारका सुकुम्बासी बस्ती हटाउने विषयमा गृह मन्त्रालयबाट सहयोग नपाएपछि असन्तुष्ट महानगर प्रमुख शाहले गत शनिबार बिहानै सिंहदरबारको फोहोर नउठाउने भन्दै केन्द्र सरकारको विरोध गरेका थिए । त्यसयता सिंहदरबारको फोहोर उठ्न सकेको छैन ।

    सम्बन्धित समाचार...