२९ बैशाख २०८१, शनिबार

ताइवानको चारैतिर चिनियाँ सैन्य अभ्यास, संयमता अपनाउन अमेरिकाको आग्रह

bb

चीनले सैन्य अभ्यासको दोस्रो दिन ताइवान र यसको चारैतिरको जलक्षेत्रमा निश्चित लक्ष्य केन्द्रित आक्रमणको अभ्यास गरेको छ ।

शनिबारबाट सुरु भएको ‘संयुक्त तरबार’ नाम दिइएको उक्त अभ्यास भोलिसम्म चल्नेछ । चीनले यसलाई ताइवानविरुद्धको कडा चेतावनी भनेको छ । ताइवानकी राष्ट्रपति साइ इंग वेनले चिनियाँ चेतावनीका बाबजुद गत साता अमेरिका ट्रान्जिटका क्रममा त्यहाँका सभामुख केभिन मकार्थीसँग भेट गरेकोमा क्रुद्ध बेइजिङले साई स्वदेश फर्केको अर्को दिनदेखि नै सैन्य अभ्यास सुरु गरेको हो ।

चिनियाँ जनमुक्ति सेनाको पूर्वी संयुक्त कमान्डले ताइवानलाई चारै दिशाबाट घेराबन्दीमा लिने गरी अभ्यास सुरु गरेको ग्लोबल टाइम्सले जनाएको छ । अमेरिकाले चीनलाई संयमता अपनाउन आग्रह गरेको छ । यो सैन्य अभ्यासमा विमानवाहक युद्धपोत, पानीजहाज, रकेट, लडाकु विमान, क्षेप्यास्त्रलगायतको प्रयोग गरिएको छ ।

शनिबार चीनका कम्तिमा ७१ वटा विमान ताइवानी टापुवरिपरिको आकाशमा उडेको ताइपेइले जनाएको छ । त्यसमध्ये ४५ वटा युद्धक विमानले ताइवानको हवाई सुरक्षा क्षेत्रको अतिक्रमण गरेको उसले जनाएको छ । यस्तै नौवटा जहाज पनि ताइवान वरिपरिको जलक्षेत्रमा देखिएको जनाइएको छ ।

ताइपेइका रक्षा अधिकारीहरुले राष्ट्रपति साइको अमेरिका भ्रमणलाई चीनले सैन्य अभ्यासको बहानाका रुपमा प्रयोग गरेको र यसले यस क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षाको गम्भीर अवमूल्यन गरेको प्रतिक्रिया दिएका छन् । ग्वाटेमाला र बेलिजको भ्रमणमा जाँदा र त्यहाँबाट फर्किदा साई न्यूयोर्क र क्यालिफोर्नियामा छोटो समयका लागि रोकिएकी थिइन् । १० दिने भ्रमण सकेर साइ शुक्रबार राति स्वदेश फर्केकी हुन् ।

चीनले ताइवानलाई आफ्नो प्रान्तका रुपमा दाबी गर्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्छ ।

    सम्बन्धित समाचार...