१३ बैशाख २०८१, बिहीबार

माओवादी छाडेर शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश

ck raut and shivachandra kushwaha 3

नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनी माओवादी छाडेर जनमतमा प्रवेश गरेका हुन्। कुशवाहलाई पार्टी अध्यक्ष सीके राउतले स्वागत गरे ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा – २ मा माओवादी केन्द्रको उम्मेदवार रहेका उनी जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मतले पराजित भएका थिए।

रामसहायप्रसाद उपराष्ट्रपति भएपछि बारा – २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने भएपछि रुष्ट बनेका कुशवाहले पार्टी परित्याग गरेका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘पार्टीभित्र ममाथि ठूलो षड्यन्त्र भयो । उपेन्द्र यादवमा सत्तामोह देखियो । उपेन्द्रलाई पराजित गर्नका निम्ती बारा २ बाट उम्मेदवारी दिने निर्णय गरेको छु ।’

स्वतन्त्रबाट चुनाव लड्न आफूले तयारी गरेको तर जनताले कुनै पार्टीलाई समात्नु भनेर सुुझाएका कारण जनताको भावना अनुरुप जनमत पार्टी रोजेको उनको भनाइ छ ।

जनमत पार्टीका अध्यक्ष राउतले जनताले कुशवाहालाई निर्वाचित गर्ने विश्वास व्यक्त गरे ।

    सम्बन्धित समाचार...