१६ चैत्र २०८०, शुक्रबार

निष्कर्षविहीन सत्ता गठबन्धनको बैठक, दिउँसो ३ बजे फेरि बस्ने

10 dal baithak gath

मन्त्रालय भागबन्डाको टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बिहान बसेको दश दलीय गठबन्धनको बैठकमा सहमति जुट्न नसकेको हो । बैठक आजै दिउँसो ३ बजे पुनः बस्ने नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका शीर्ष नेताहरु सहभागी थिए ।

बैठकपछि अन्य नेताहरु बाहिरिए पनि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरिरहेका छन् । मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न सकिरहेका छैनन् ।

सत्ता घटक नेपाली कांग्रेसले अर्थसहित आठ वटा मन्त्रालयमा दाबी गरिरहेको छ । माओवादीले गृह मन्त्रालय आफूले राख्ने भएपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिन सहमत भएको छ । यद्यपि, प्रधानमन्त्री दाहालले कांग्रेसलाई अर्थसहित सात मन्त्रालयमा मात्रै लिन आग्रह गर्दै आएका छन् । यस्तै, एकीकृत समाजवादी र जसपाले कम्तिमा तीन – तीन मन्त्रालय पाउनु पर्ने अडान लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ । धेरै दललाई सरकारमा समेट्नु पर्ने बाध्यता र दलहरुको अडानका कारण प्रधानमन्त्री दाहाल दबाबमा छन् ।

चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् । १० दलको समर्थन पाएका प्रधानमन्त्री दाहाललाई भागबन्डा मिलाउन सकस परिरहेको छ । साना दललाई व्यवस्थापन गर्दै सरकारमा सहभागी गराउनु प्रधानमन्त्रीका लागि चुनौती बनेको छ ।

पुस १० गते बनेको गठबन्धन टुटेसँगै एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालय हेर्दै आएका छन् ।

    सम्बन्धित समाचार...