
मधेस प्रदेश सरकार मिटरब्याजी पीडितको समस्याप्रति गम्भीर रहेको र जिम्मेवारीबाट नभाग्ने जनाएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘तपाईंको आँसुको हरेक थोपामा हाम्रो साथ छ ।’
पीडितको आँसुको हरेक थोपामा प्रदेश सरकारको सरोकार र दायित्व रहेको उल्लेख गर्दै उनले जिम्मेवारीबाट नभाग्ने प्रतिबद्धता जनाएका छन् । उनले यो मधेस प्रदेशको मात्रै समस्या नभई प्रदेशबाट उठेको देशकै समस्या भएको बताएका छन् ।
गरिब झन् गरिब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न मधेस प्रदेश सरकारको तर्फबाट विद्वत वर्ग, चिन्तक, योजनाविद, विज्ञ सबैलाई उनले आह्वान गरेका छन् ।