१४ बैशाख २०८१, शुक्रबार

एकैसाथ प्रतिनिधिसभाका १२ सांसद दिल्लीमा, दूतावासलाई छैन जानकारी

samsad

प्रतिनिधिसभाका १२ सांसद मंगलबार दिल्ली पुगेका छन् । एकैसाथ ठूलो संख्यामा सांसद नौ दिनको भारत भ्रमणमा पुगेका हुन् ।

दिल्ली पुगेका प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र सीता मिजार छन् । एमालेका मेनुका पोखरले, बलराम अधिकारी, नारायण आचार्य, सराज अहमद फारुक छन् ।

त्यस्तै, माओवादी केन्द्रका माधव सापकोटा, मीना तामाङ छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ढककुमार श्रेष्ठ र नेकपा समाजवादीका शेरबहादुर कुँवर भ्रमण टोलीमा सहभागी छन् । बिहान आठ बजेको नपाल एयरलाइन्सको विमानबाट गएका सांसदहरु दिल्ली गुरुग्राममा रहेको र्‍याडिसन होटेलमा बसेका छन् ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदहरुलाई दिल्ली ल्याएको हो । संस्थाका अध्यक्ष अरविन्द महतोले भारतको संसदीय व्यवस्था प्रणालीको अध्ययन अवलोकनका लागि सांसदहरुको भारत भ्रमणको आयोजना गरिएको जनाए ।

दिल्लीस्थित नेपाली दूतावासलाई सांसदहरुको भ्रमणबारे कतैबाट जानकारी गराइएको छैन । दूतावास स्रोतले सरकारी तहबाट आयोजना नगरिएकैले दूतावासमा जानकारी नआएको हुनसक्ने जनाइएको छ । संसद् सचिवालय वा परराष्ट्र मन्त्रालयले भ्रमणको आयोजना गरेको छैन । दूतावासका अधिकारीका अनुसार भारतको विदेश मन्त्रालय वा लोकसभाले औपचारिक रुपमा निम्तो पठाएर भ्रमण भएको भए परराष्ट्र मन्त्रालयबाट निश्चय पनि भ्रमणबारे दूतावासलाई जानकारी आउँथ्यो ।

भ्रमण टोलीमा १९ सांसदको नाम रहेकामा अन्तिममा १२ जना मात्रै भ्रमणमा गएका हुन् । सांसदहरुलाई दिल्लीको विभिन्न ठाउँमा भ्रमण गराउनुका साथै विदेश मन्त्रालयका नेपाल-भुटान हेर्ने सह-सचिव अनुराग श्रीवास्तव र भाजपका विदेश विभागका प्रमुख विजय चौथाइवालसँग भेटाउने आयोजकले सेड्युलमा राखेको छ । पहिलो दिन भने सांसदहरुले अपराह्‌न ४ बजे नीति आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग छलफलमा सहभागी हुने र त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ ।

तर, दोस्रो दिन संसद् घुम्ने, विवेकानन्द फाउन्डेसनमा अन्तर्क्रियामा सहभागी हुने, नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जिवसिंह पुरीसँग भेटको कार्यक्रम छ । तीनदिनको दिल्ली भ्रमणपछि सांसदहरुलाई मुम्बई लगिनेछ । त्यहाँ पनि चारदिनको भ्रमण गराइने त्यस क्रममा त्यहाँका राज्यपाल, मुख्यमन्त्री र नेपाली समुदायसँग अन्तर्क्रिया गराइने भ्रमणको कार्यसूची छ । चैत २२ मा मुम्बईबाट सांसदहरु काठमाडौं फर्किनेछन् ।

आरजु देउवा पनि दिल्लीमा

नेपाली कांग्रेसका सांसद आरजु देउवा पनि दिल्ली पुगेकी छन् । उनी मंगलबार साँझ गएकी हुन् । यसपटक उनी आमा प्रतिभा राणाको उपचारका लागि दिल्ली गएको जनाइएको छ । साथमा परिवारका अन्य सदस्यहरु पनि छन् । एक वर्षयता आफ्नो वा परिवारका सदस्यहरुको उपचारका लागि उनी पटक-पटक दिल्ली आएकी छन् ।