१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै

10 dal baithak gath

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । आजको बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्ष नेताहरूबीच सहमति भएको छ । सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।

गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने छ । दलहरूबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

मन्त्रिपरिषद् विस्तार गरिने भनिए पनि दलहरूबीच सहमति हुन सकेको छैन । कांग्रेसले अर्थसहित ८ मन्त्रालय दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन् ।

चैत ६ गते संसद्‌बाट दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले एक साता बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।