१४ बैशाख २०८१, शुक्रबार

देशव्यापी प्रदर्शन जारी फ्रान्समा, हवाई यात्रासमेत प्रभावित

65092039 605

फ्रान्समा अवकाशको उमेर बढाउने विवादास्पद पेन्सन सुधार योजनाको विरोधमा देशव्यापी प्रदर्शन जारी छ ।

बिहीबार देशव्यापी हडताल र विरोध प्रदर्शनको नवौँ दिन रेल र हवाई यात्रा प्रभावित भएको र शिक्षक समेत पेसाकर्मीले काम बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलमा आगजनी भएको बीबीसीले उल्लेख गरेको छ ।

मजदुर सङ्गठनहरूले मार्च २८मा पनि अर्को देशव्यापी हडतालको आह्वान गरेका छन् । बेलायतका राजा चार्ल्स तृतीय सोही दिन पेरिसबाट ट्रेनमा बोर्डो सहर पुग्ने कार्य तालिका रहेको छ ।

देशभर १० लाखभन्दा बढी मानिस सडकमा ओर्लिएको आन्तरिक व्यवस्था मन्त्रालयको तथ्यांकले देखाएको छ। राजधानी पेरिसमा मात्रै एक लाख १९ हजार मानिस विरोध प्रदर्शनमा सहभागी भएको जनाइएको छ । पेरिस लगायतका सहरमा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप र आगजनीका घटना भएका छन् ।

झडपमा दर्जनौँ प्रहरी घाइते भएको र दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सरकारले अवकाशको उमेर ६२ बाट बढाएर ६४ वर्ष पुर्‍याउने विवादास्पद विधेयक गत साता संसद्को तल्लो सदनमा मतदान नै नगराई पारित गराएको थियो । त्यसको विरोधमा आन्दोलनकारी थप आक्रोशित भएका हुन् ।

तनाव चर्किँदै गए पनि राष्ट्रपति इम्यानुएले म्याक्रोँले भने यसै वर्षको अन्त्यबाट उक्त विधेयक कार्यान्वयनमा आउने बताएका छन् ।

    सम्बन्धित समाचार...