१३ बैशाख २०८१, बिहीबार

मन्त्रिपरिषद् विस्तारमा विलम्बः हिस्सा खोज्दै कांग्रेस इतर पक्ष

deuba shekhar

सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको विषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसको संस्थापन इतर समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुनुपर्ने निष्कर्ष निकालेको छ। संघ र प्रदेशको सरकारमा सहमति गर्दै मन्त्रिपरिषद् विस्तार गर्न सत्ता साझेदार चार दलका शीर्ष नेताहरू निरन्तर छलफलमा जुटेका छन्। तर उनीहरूबीच सहमति जुट्न सकेको छैन। सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सरकारमा आफूले रोजेको मन्त्रालय र संख्या पाउनुपर्ने अडान राख्दै आएको छ।

कांग्रेसले राष्ट्रपति, माओवादी केन्द्रले प्रधानमन्त्री, जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति पाइसकेको जनाउँदै नेकपा एसले मन्त्रालय रोज्ने पालो आफ्नो भएको बताउँदै आएको छ। नेकपा एसले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गर्दै आएको छ। साथै कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने उक्त पार्टीको अडान छ। कांग्रेस र माओवादी भने नेकपा एसलाई दुई मन्त्रालयमा मनाउने तयारीमा छन्।

संघ र प्रदेश सरकार प्याकेजमै सहमति गर्ने गृहकार्यमा प्रमुख चार दलका शीर्ष नेता जुटेका छन्। तर दलीय सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने देखिएको छ। ‘शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको चाहना थियो,’ निकट स्रोतले भन्यो, ‘अर्को शुक्रबार पो पुग्लाजस्तो देखिएको छ।’ प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए।

उता कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिएका छन्। नेता शेखर कोइरालाले बिहीबार आफ्नो सम्पर्क कार्यालयमा निकट सांसदहरूसँगको छलफलमा सभापति शेरबहादुर देउवासँग सरकारमा सहभागिताको विषयमा छलफल नभएको बताएका छन्। गठबन्धन दलहरूबीच मन्त्रालयको संख्यामा सहमति भएसँगै सभापति देउवासँग कुरा गर्ने आश्वासन दिँदै कोइरालाले सम्मानजनक सहभागिताका लागि आफूले पहल लिने बताएका छन्। सरकारमा सहभागिता आगामी पाँच वर्षमा पटकपटक हुने अवसर आउने आलोपालोमा धेरै सांसद मन्त्री बन्ने अवस्था आउने भन्दै निकट सांसदहरूलाई भनेका थिए, ‘अहिले पालो नआए अर्कोपल्ट आउँछ।’

उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा उपस्थित नरहेको सो भेलामा संघीय सांसद नभए पनि नेताहरू बलबहादुर केसी, मीनेन्द्र रिजाल र अमरसिंह पुन सहभागी थिए। नागरिक दैनिकबाट