
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता बढाउन र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरेका छन् ।
नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बिहीबार उनले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता बढाउन नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे । उनले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि जनाए ।
उनले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्द्धन गर्न जरुरी रहेको दाबी गरे । मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढे पनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने विन्दुमा सरकार नरहेको जनाए । ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन, पुँजीगत खर्चमा वृद्धि, त्यसको कार्यान्वयन क्षमतामा वृद्धि हो । व्यापार घाटा, जो भीमकाय छ, त्यसलाई घटाउनु हो, व्यापार घाटा सम्बन्धमा स्वभाविक रुपमा तीनवटा कुरा हामीले गर्नैपर्छ,’ उनले भने, ‘उत्पादनको वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने र त्यसद्वारा आयात नियन्त्रण गर्ने, कृत्रिम आयात नियन्त्रण होइन, आयात प्रतिस्थापन गर्ने प्रक्रियाद्वारा आयात नियन्त्रण गर्ने र निर्यात प्रवर्द्धन गरेर मात्रै हामीले व्यापार घाटा कम गर्नसक्छौं ।’
मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कूटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक-अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्नेमा जोड दिए । उनले आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक रहेको धारणा राखे । नेपालले इटलीमा वार्षिक एक अर्ब १४ करोडको सामान निर्यात गर्ने गरेको र इटलीसँग नेपालको व्यापार घाटा दुई अर्ब ९६ करोड रुपैयाँ रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।