१६ चैत्र २०८०, शुक्रबार

‘सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ’

sarad singh bhandari
फाइल फोटो

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरत्‌सिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने जनाए । निर्वाचनअघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान भूमिका रहने उनको भनाइ छ । उनले गठबन्धनलाई पाँच वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

‘अहिलेको समसामयिक परिस्थति र राजनीतिबारे हाम्रो छलफल भयो । साथै सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ । हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ । अहिले जुन कोर्स करेक्सनको कुरा छ, अर्थात् प्रि-इलेक्सन अनाउन्सअघिको गठबन्धन सुरु भएको छ, त्यतिबेला नेपाली कांग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो । त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिब-करिब बहुमत आएको थियो,’ उनले भने, ‘गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ । यो गठबन्धनलाई पाँच वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ । गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ । संगठन विस्तार र पार्टीलाई नयाँ ढंगबाट अघि बढ्ने निर्णय भएको छ । उप-निर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ । बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वभाविक हो ।’

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन विस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि जानकारी दिए । उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीका तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वभाविक रहेको जनाए ।

    सम्बन्धित समाचार...