२४ बैशाख २०८१, सोमबार

अख्तियारमा पुग्यो रवि लामिछानेको राहदानी प्रकरण

rabi lamichhane passport1674821868

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादबारे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

महान्यायाधिवक्ता दीनमणि पोखरेललगायत सरकारी वकिलले पदीय दायित्व र अख्तियार दुरुपयोग गरेको भन्दै युवराज पौडेलले अख्तियारमा उजुरी दिएका हुन् । नागरिकता विवादसम्बन्धी पौडेलसहितको रिटपछि संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो । लामिछानेलाई राहदानी दुरुपयोगजस्तो फौजदारी मुद्दामा उन्मुक्ति दिन सरकार नै उद्धत भएको उल्लेख गर्दै पौडेलले प्रशासन न्याय निरूपण गर्ने निकाय नभएको दाबीसहित न्यायालय जान लागेको बताए ।

नागरिकतासम्बन्धी विवादका विषयमा फागुन २३ गते जारी पूर्णपाठमा सर्वोच्चले झुटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएको विषयको निरुपण राहदानी ऐन, २०७६ अनुसार हुनुपर्ने उल्लेख गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले भने गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभागसमेतको प्रतिवेदनका आधारमा मुद्दा नचलाउने निर्णय गरेको थियो । यो निर्णय आफैंमा न्यायोचित नभएको कानुनका जानकार बताउँछन् ।

अमेरिकी नागरिककै हैसियतमा नेपाल आएर राहदानी लिएको आरोप लागे पनि लामिछानेलाई मुद्दा नलाग्ने निर्णय जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले गरेका थिए। सोही प्रतिवेदनका आधारमा मुद्दा नचल्ने निर्णय गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको थियो ।