१४ बैशाख २०८१, शुक्रबार

भारतविरुद्धको सिरिज जित्दै अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

india vs australia

अस्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको तीन खेलको ओडीआई सिरिज जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो ।

चेन्नाइमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै २ सय ६९ रन बनाएको थियो । भारतीय बलरले किफायती बलिङ गर्दै अस्ट्रेलियालाई ठूलो योगफल बनाउनबाट रोकेका थिए ।

ओपनर ट्रेभिस हेड ३३ रनमै आउट भएका थिए । कप्तान स्टिभन स्मित डक आउट भए । मिचेल मार्शले ४७, डेविड वार्नरले २३ र मार्नस लाबुसेनले २८ रन जोडे । तल्लो क्रममा ब्याटरले भारतलाई तनाव दिएका थिए । पाहुना टोलीको १ सय ३८ रनमा पाँच विकेट गइसकेको थियो । छैटौँ विकेटका लागि एलेक्स क्यारी र मार्कस स्टोनिसले ५८ रनको साझेदारी गरेपछि भारतले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो । क्यारीले ३८ र मार्कस स्टोनिसले २५ रनको योगदान गरे । सिन एब्बोटले २६ रन बनाएका थिए । हार्दिक पान्डेया र कुलदीप यादवले तीन-तीन विकेट लिए ।

जवाफमा भारत ४९ ओभर एक बलमा २ सय ४८ रनमा समेटियो । कप्तान रोहित शर्मा र शुभम गिलले ६५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । रोहित ३० र गिल ३७ रनमा मैदान बाहिरिए । विराट कोहलीले ५४ र हार्दिकले ४० रन बनाउँदै इनिङस् सम्हाल्ने प्रयास गरेपनि सफल भएनन् । भारतलाई जितका लागि ३८ बलमा ५८ रन आवश्यक थियो । तर एडम जाम्पाले रविन्द्र जडेजालाई १८ र हार्दिकलाई आउट गर्दै अस्ट्रेलियालाइ खेलमा फर्काए । जाम्पाले ४ र एस्टन अगरले दुई विकेट लिए ।

यो जितपछि अस्ट्रेलियाले भारतलाई उछिन्दै ओडीआई वरीयताको पहिलो स्थानमा उक्लिएको छ । भारतले घरेलु भूमिमा सन् २०१९ पछि पहिलो पटक सिरिज हारेको हो ।

    सम्बन्धित समाचार...