४ बैशाख २०८१, मंगलवार

तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

ele 2

निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उप निर्वाचन गर्ने गरी मिति तोकेको छ ।

आयोगको बैठकले वैशाख १० गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समय निर्धारण गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

गत फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभई तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य रिक्त भएको र यही चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभई बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य रिक्त भएको हो ।

संविधान बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ ।

चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी गर्ने र आयोगको गत फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०७९ बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीकै आधारमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन समेत सम्पन्न गर्ने निर्णय गरिएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

    सम्बन्धित समाचार...