१४ बैशाख २०८१, शुक्रबार

‘केही दिनभित्रै सरकारले पूर्णता पाउँछ’

sakti basnet
फाइल फोटो

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले केही दिनभित्रै सरकारले पूर्णता पाउने जनाएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै राजनीतिक दलहरु सरकारमा सहभागी हुने विश्वाससमेत व्यक्त गरे । विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरुले नभनेकाले उनीहरु सबै सरकारमा सहभागी हुने बस्नेतको विश्वास छ । प्रधानमन्त्री दाहालले विश्वास मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सरकार र सत्तारुढ दलहरु लागिपर्ने प्रतिबद्धता जनाए ।

‘हाम्रो कोसिस सकेसम्म राष्ट्रिय सहमति नै हो । आज पनि हाम्रो प्राथमिकता यो हो । र, कोसिस पनि त्यो हो । तर अब केही दलको राष्ट्रिय सहमतिप्रति त्यति रुचि देखिएन । सोचेअनुसारको सहमति नभए पनि अधिकतम सहमतिको वातावरण तय भएको छ,’ उनले भने, ‘फेरि पनि आगामी दिनमा सहमति निर्माण गरेर अघि बढ्न सरकारले आफ्नो तर्फबाट प्रयत्न गर्छ । हामी सबैको प्रयत्न हुन्छ । प्रधानमन्त्रीज्यूले भन्नुभएजस्तै केही दिन भित्रै यसले पूर्णता पाउँछ ।’

उपमहासचिव बस्नेतले केही दलहरुले रुचि नदेखाए पनि अधिकतम सहमति निर्माण गरेर सरकार अघि बढ्ने वातावरण बनेको पनि उनको भनाइ छ । ‘अहिले गठबन्धनमा सहभागी भएका सबै दल, अहिले सरकारलाई विश्वासका मत दिएका सबै दलहरु सरकारमा सहभागी हुने वातावरण बन्न सक्छ । किनकि अघिल्लोपटक जस्तो यतिबेला सरकारलाई विश्वासको मत दिएर विपक्षमा हामी बस्छौं भनेर कसैले भन्नु भएको छैन,’ बस्नेतले भने ।

    सम्बन्धित समाचार...