१३ बैशाख २०८१, बिहीबार

हालसम्मकै उच्च रेकर्ड कायम सुनको मूल्यमा

gold

नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (आइतबार) तोलामा नौ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत माघ १९ गते प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ पुगेर उच्च मूल्यको रकर्ड बनाएको थियो । उक्त उच्च मूल्यको रकर्ड डेढ महिनामै तोडिएको छ ।

गत साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख सात हजार एक सय रुपैयाँ तोकिएको थियो ।

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय पुगेको छ । गत शुक्रबार तोलाको एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा महासंघले नेपालमा सुनको भाउ निर्धारण गर्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔन्स एक हजार नौ सय ८८ डलरमा कारोबार भइरहेको छ ।

    सम्बन्धित समाचार...