२६ बैशाख २०८१, बुधबार

प्रतिपक्षबाट सत्ता पक्षमा उभिँदै कांग्रेस

house
फाइल फोटो

हालसम्म संसद्को प्रतिपक्ष बेन्चमा बस्दै आएको नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा सत्तापक्ष कित्तामा बसेर एमालेलाई प्रतिपक्षी बेन्च खाली गर्ने भएको छ । सत्ता सहयात्रामा दुई महिना मात्रै सँगै रहेको एमाले–माओवादीसहितको सात दलीय गठबन्धन भत्किएर कांग्रेससहितको आठ दलीय नयाँ गठबन्धन कांग्रेस सत्तापक्षमा बस्ने भएको हो ।

सत्ता गठबन्धनमा सामेल भए पनि सरकारमा सहभागी नभएको भन्दै प्रतिपक्षी बेन्चमै बस्दै आएको कांग्रेसले आइतबार बस्ने संसद् बैठकलाई सहजरूपमा सञ्चालन गराउन भूमिका खेल्ने बताएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसले पहिला पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासका मत दिएको र फेरि पनि मत दिने अवस्थामा रहेको बताए।

उनले भने– ‘हामीले वर्तमान प्रधानमन्त्रीलाई पहिला पनि विश्वासको मत दिएका र अहिले कांग्रेससहितको नयाँ गठबन्धन बनेर राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा समेत एक ठाउँ उभिएकाले कांग्रेस सत्ता पक्ष दलको हिसाबमा अघि बढेको छ ।’ प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक चैत ६ गते विश्वासको मत लिने तयारी भएकाले त्यसअघि नै पार्टीको बैठक राखेर सरकारलाई विश्वासको मत दिने र संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गर्ने तयारीमा रहेको उपसभापति गुरुङले जानकारी दिए ।

आइतबारको संसद् बैठकमा कांग्रेस प्रतिपक्षी बेन्चमै बसे एमाले संसद् अवरुद्ध गर्ने पक्षमा रहेको छ । नेकपा (एमाले) का सचेतक पदम गिरीले पहिला नै विश्वासको मत दिइसकेको र वर्तमान सत्ता गठबन्धनमा रहेर सरकारमा जाने तयारीमा रहेको दल प्रतिपक्षी हुन नसक्ने बताए । सरकारबाट बाहिरिएर संसद्मा जनताका आवाज उठाउनका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्ने उनको भनाइ छ । संसद्मा सत्ता पक्षको अवस्था हेरेर एमालेले निर्णय लिने भन्दै गिरीले भने, ‘कांग्रेसले सरकारलाई विश्वासको मत दिने, सत्ता गठबन्धनमै रहने तर संसद्मा प्रतिपक्षी हुँ भन्नु संसदीय अभ्यासविपरीत हो । हामी विरोध गर्छौं ।’

नेकपा एमालेको सोही रणनीतिलाई मध्यनजर गर्दै आइतबारको बैठकलाई सहज बनाउन कांग्रेस सत्ता पक्षमा रहने र सरकारमा समेत सामेल हुनुपर्ने कांग्रेस नेताहरूको धारणा छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि नै कांग्रेस सत्ता पक्षको कित्तामा उभिनुपर्ने अधिकांश नेताहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट