१४ फाल्गुन २०८०, सोमबार

जनयुद्धमा मारिएका सहिदहरूको नाम कुन जिल्लामा कति ?

Home ministry nepal

सरकारले फागुन २९ गते राजपत्रमा देशभरिका ८ हजार ४ सय ६४ जना सहिदको नामावली प्रकाशित गर्यो, जस अनुसार मनाङ र मुस्ताङ दुई जिल्लामा १० वर्षे सशस्त्र द्वन्द्वमा एकजना पनि नमरेको र सहिदको संख्या शून्य रहेको छ । सबैभन्दा बढी मानिसहरु मारिएको जिल्ला रोल्पा रहेको छ भने कम मारिएको जिल्लाको सूचीमा भक्तपुर परेको छ ।

राजपत्रमा ७७ मध्ये ७५ जिल्लाका सहिदहरुको विवरण समावेश छ । जसअनुसार सबैभन्दा बढी रोल्पामा ७५३ जना सहिद बनेको देखाइएको छ । यो संख्या राज्यपक्ष र माओवादी दुबैतर्फबाट मारिएका व्यक्तिहरुको हो ।

माओवादी जनयुद्धको उद्गमस्थल मानिने रुकुममा पनि द्वन्द्वकालमा धेरै मानिस मारिएका थिए । रुकुमका ५८४ जना सहिदको विवरण राजपत्रमा छापिएको छ । त्यस्तै तेस्रोमा कालिकोट जिल्ला परेको छ, जना ४३३ जना मारिएका छन् ।

मनाङ र मुस्ताङलाई छाडेर भन्नुपर्दा सशस्त्र द्वन्द्वमा सबैभन्दा कम क्षति भएको जिल्ला भक्तपुर हो, जना ६ जनाले ज्यान गुमाएको देखिन्छ । त्यसपछि काठमाडौंमा ७ जनाले ज्यान गुमाएको राजपत्रमा उल्लेख छ ।

कुन प्रदेशमा कति मारिए ?

राजपत्रमा प्रकाशित सहिदको विवरण अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा २ हजार १६५ जना मारिएका छन् ।

दोस्रो, लुम्बिनी प्रदेशमा १ हजार ५६६ जना मारिएका छन् । सबैभन्दा कम मधेसमा ७०४ जना सहिद बनेका छन् ।

कोशी प्रदेशमा १ हजार १६७ जना, बागमतीमा १ हजार १०६, गण्डकीमा ७४४ र सुदुर पश्चिम प्रदेशका जिल्लाहरुबाट १ हजार ७ जना सहिद बनेको राजपत्रमा उल्लेख छ ।

राजपत्रमा नवलपरासी सुस्तापूर्व र नवलपुर दुबै जिल्लालाई एकै ठाउँमा देखाइएको हुनाले कर्णालीको तथ्यांकमा दुबै नवलपरासीको तथ्यांक जोडिएको छ । त्यस्तै रुकुमलाई पनि राजपत्रमा एकै जिल्लामा देखाइएको हुनाले गण्डकीको तथ्यांकमा दुबै जिल्लाको तथ्यांक पर्न गएको छ ।

कुन जिल्लामा कति मारिए ?

कोशी प्रदेशमा मारिएका १ हजार १६७ जनामध्ये ताप्लेजुङ १५०, पाँचथर १०१, इलाम १००, झापा ७८, मोरङ ११५, सुनसरी ५१, संखुवासभा ९३, तेह्रथुम ५३, धनकुटा २२, भोजपुर ७८, खोटाङ ९३, सोलुखुम्बु ८४, ओखलढुंगा ८५, उदयपुर ६४ छन् ।

त्यसैगरी मधेस प्रदेशमा मारिएका ७०९ जना मध्ये सप्तरी ४२, सिराहा १२०, धनुषा १४०, महोत्तरी ४८, सर्लाही ७८, रौतहट १७८, बारा ७२ र पर्सा ३१ जना छन् ।

बागमती प्रदेशमा मारिएका १ हजार १०६ जनामध्ये दोलखा ११२, रामेछाप ८८, सिन्धुली १४५, काभे्रपलाञ्चोक १३५, सिन्धुपाल्चोक १८५, रसुवा १९, नुवाकोट १६३, धादिङ ६९, चितवन १०७, मकवानपुर ६३, भक्तपुर ६, ललितपुर १४ र काठमाडौं ७ जना छन् ।

गण्डकी प्रदेशबाट सहिद बनेका ७४४ मध्ये गोरखा २१५, लमजुङ ९०, तनहुँ ८०, कास्की ४८, म्याग्दी ६४, पर्वत ४१, स्याङजा ४८, बाग्लुङ १०० र नवलपरासी (दुबै) ५८ जना छन् ।

लुम्विनी प्रदेशबाट घोषित १ हजार ५६६ जना सहिदमध्ये रुपन्देही ४३, कपिलवस्तु ११९, पाल्पा ४७, अर्घाखाँची ५७, गुल्मी २३, रोल्पा ७५३, प्युठान ६९, दाङ २४५, बाँके ११० र बर्दिया १०० जना छन् । राजपत्रमा यो प्रदेशको नवलपरासी पश्चिमलाई गण्डकीको विवरणमा मिसाइएको छ ।

पहाड र हिमाली भेगमात्र समेटिएर बनेको कर्णाली प्रदेश सशस्त्र द्वन्द्वबाट धेरै क्षति व्यहोर्ने प्रदेश बन्न पुगेको छ । यस प्रदेशमा मारिएका २ हजार १६५ मध्ये रुकुम ५८४, सल्यान २२१, डोल्पा ४०, जुम्ला १७५, मुगु ६७, हुम्ला १०९, कालिकोट ४३३, जाजरकोट २१३, दैलेख १८६ र सुर्खेत १३७ जना छन् । यो तथ्यांकमा रुकुमपूर्वसमेत समेटिएको छ ।

सुदुरपश्चिम प्रदेशबाट सशस्त्र द्वन्द्व र अन्य आन्दोलनहरुमा १ हजार ७ जनाले ज्यान गुमाए । मारिने मध्ये बाजुरा १०९, बझाङ ६९, डोटी ६३, अछाम १४३, दार्चुला ५०, बैतडी ८३, डडेलधुरा ७३, कञ्चनपुर १३५ र कैलाली २८२ जना छन् । 

    सम्बन्धित समाचार...