१५ बैशाख २०८१, शनिबार

जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि मञ्जु शर्मा (अन्सारी) सिफारिस

jasapa samsad manju ansari1678958746

जनता समाजवादी पार्टी, नेपालले मञ्जु शर्मा (अन्सारी) लाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको सो पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको सो पदमा अन्सारीलाई नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।

‘जनता समाजवादी पार्टी नेपालको आज सम्पन्न कार्यकारिणी समितिको बैठकले पार्टीको समानुपातिक सूचिबाट प्रतिनिधिसभामा निर्वाचित माननीय सहनाज सहमानजीको असामयिक निधन पश्चात रिक्त पदको बारेमा निर्वाचन आयोगको पत्रअनुसार निर्णय गर्नुपर्ने थियो । सोहीअनुसार आज निर्धारित समयभित्र हामीले सहनाज रहमान रहनुभएको मुस्लिम समुदायबाट वरीयताक्रममा दोस्रो पार्टीका उम्मेदवार मञ्जु शर्मा अन्सारीलाई प्रतिनिधिसभाको सदस्य पदमा समानुपातिक सूचीबाट बनाइयोस् भनेर आज हामीले सिफारिस पत्र पठाउने निर्णय गरेका छौं,’ सुमनले भने, ‘उपराष्ट्रपति निर्वाचनबारे पनि आजको बैठकमा सामान्य छलफल भयो । सबै साथीहरुले उपराष्ट्रपतिको उम्मेदवारलाई विजयी गराउन आ-आफ्नो ठाउँबाट प्रयास गर्ने चर्चा पनि भयो ।’

निर्वाचन आयोगले सांसद रहमानको निधनपछि जनता समाजवादी पार्टीलाई अर्को सांसद सिफारिस गर्न पत्राचार गरेको थियो । बैठकमा नेताहरुले उपराष्ट्रपति निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । सो पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाएको छ ।

    सम्बन्धित समाचार...