८ बैशाख २०८१, शनिबार

रियाल मड्रिड च्याम्पियन्स लिगको अन्तिम ८ मा

real madrid

स्पेनिस च्याम्पियन रियाल मड्रिडले लिभरपुललाई समग्रमा ६–२ गोलले हराउँदै युएफा च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान बनाएको छ।

सान्टियागो बर्नाबेउमा भएको दोस्रो लेगमा रियाल १ – ० गोलले विजयी भएको हो । एन्फिल्डमा भएको पहिलो लेगमा रियाल ५ – २ ले अघि थियो ।

बर्नाबेउमा योर्गन क्लोपको टोली लिभरपुल उत्कृष्ट कमब्याक गर्ने लक्ष्यका साथ पुगेको थियो । पहिलो हाफमा गोल हुन सकेन । छैटौँ मिनेटमा डार्विन नुनियाजले गोल गर्ने मौका खेर फालेपछि लिभरपुलले अग्रता बनाउने मौका गुमायो । नुनियाजको प्रहार थिबाउट कोट्वाले बचाएका थिए । उनले गरेको अर्को प्रहारमा पनि कोट्वा नै बाधक भएका थिए ।

लिभरपुलको सुरुवाती लाइनअपमा डियागो जोटा, मोहम्मद सल्लाह जस्ता फर्वाड रहेका थिए । तर उनीहरुको प्रभाव बर्नाबेउमा देखिएन । ७८ औँ मिनेटमा रियालले डेडलक तोड्यो ।

भिनिसियस जुनियरले दिएको कटब्याकमा लेजेन्ड करिम बेन्जेमाले गोल गर्दै रियालाई जित दिलाएका हुन् । उनी गोल गर्ने समय घाइतेसमेत भएका थिए । योसँगै लिभरपुल तीन पटक रियालसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ । यो पराजयपछि यो सिजन लिभरपुलको सबै उपाधि सम्भावना पनि सकिएको छ ।