२० बैशाख २०८१, बिहीबार

जथाभावी सेयर किनबेच गर्ने क्रम बढ्दो- हल्ला तथा लहडका भरमा !

share market for all

भविष्यमा पनि उच्च प्रतिफल दिने कम्पनीको सेयर मूल्य बढ्नु स्वाभाविक मानिन्छ । तर केही समययता हल्ला तथा लहडका भरमा जथाभावी सेयर किनबेच गर्ने क्रम बढेको छ । अझ संस्थागत सुशासन नभएका, लामो समयदेखि साधारण सभा हुन नसकेका र प्रतिफल नै नदिएका कम्पनीमा लगानीकर्ता झुम्मिने गरेका छन् । राष्ट्रिय बिमा तथा विशाल बजार सहितका यस्ता कम्पनी नै उच्च मूल्य भएका १० कम्पनीभित्र परेका छन् । जसमा न्युनतम संस्थागत शुसासनसमेत छैन ।

सेयरबजारमा सूचीकृत २ सय १६ कम्पनीमध्ये उच्च सेयर मूल्य भएका १० कम्पनीको सूचीमा दोस्रो स्थानमा छ राष्ट्रिय बिमा कम्पनी लिमिटेड । बुधबार बजार बन्द हुँदा यसको मूल्यप्रति सेयर १२ हजार ८ सय ५० कायम भएको छ । सेयर बजार राम्रो भएका बेलामा यसको मूल्य १७ हजार १ सय २५ रुपैयाँ सम्म पुग्ने गरेको छ । तर, यति धेरै लगानी गर्ने सेयर धनीलाई यसले अहिलेसम्म यसले न लाभांस बाँडेको छ, न बोनस सेयर नै । २६ करोड ६६ लाख चुक्ता पुँजीभएको यो कम्पनीमा स्वयं नेपाल सरकार तथा सरकारकै निकाय कर्मचारी सञ्चय कोष र नेपाल बैंकको ८० प्रतिशत लगानी छ । तर संस्थागत सुशासनमा कसैलाई चिन्ता देखिँदैन । संस्थाको कारोबार पारदर्शी छैन । ५ लाख २० हजार ९ सय ७२ कित्ता सेयर सर्वसाधारणको छ । तर २०६८ यतायसको साधारणसभा र लेखापरीक्षण नै भएको छैन ।

तर, यही भद्रगोल बिमा कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । पुँजी वृद्धिका नाममा हकप्रद सेयर जारी गर्ने र बोनस सेयर बाँड्ने हल्ला गराइदै यसको मूल्य उच्च बनाइने गर्छ । तर, यी दुवै अनिश्चित छन् । २०६८ सालमा लेखापरीक्षण गराउँदा हिसाब पारदर्शी देखाउन नसकेपछि बिमा प्राधिकरणले बोनस बाँड्न रोकेको विषयसमेत कतिपय लगानीकर्तालाई थाहा छैन ।

कुनै पनि कम्पनीको अहिलेको सेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भागगर्दा निस्कने हिसाबलाई पीई रेसियो भनिन्छ । जसले अहिलेको सेयरबजारमा कायम भएको प्रतिकित्ता मूल्य महंगो वा सस्तो भनेर देखाउँछ । यो रेसियो २० देखि २५ अंक देखिएमा त्यस्ता कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । पीई रेसियोको आधारमा लगानी गर्न विशालबजार कम्पनी उचित देखिन्छ, तर सञ्चालकको खिचातानीका कारण ६ वर्ष यतादेखि साधारण सभासमेत गर्न सकेको छैन । नाफा बाँड्ने र हकप्रद सेयर दिने हल्लाकै आधारमा बढाइएको यो कम्पनीको सेयर मूल्य अहिले पनि उच्च छ । केही समूहले ठूलो मात्रामा सेयर खरिद गरी मूल्य बढाएर सर्वसाधारणलाई बेच्ने गर्दा यसरी अस्वाभाविक सेयर मूल्य रहने गरेको विश्लेषकहरु बताउँछन् ।

संस्थागत सुशासन कायम भएका तथा प्रतिफल राम्रो दिने आधार बनाएका कम्पनीमा लगानी गर्दा लगानीकर्ताको सम्पत्ति जोखिममा पर्दैन । तर लहडका भरमा यसरी छोटो समयमै नाफा कमाउन हौसिने प्रवृत्तिले लगानीकर्ताको लगानी जोखिममा त परेको छ नै, सेयरबजारको दिगोपनामा समेत प्रश्न उठाएको छ ।

    सम्बन्धित समाचार...