७ बैशाख २०८१, शुक्रबार

भोलि नेपालले एईसँग प्रतिस्पर्धा गर्ने, जिते विश्वकपमा सीधैं छनोट

nepal

आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले भोलि (बिहीबार) यूएईको सामना गर्दै छ । नेपालले सीधै विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने या प्लेअफ, भविष्य निर्धारण यो खेलले गर्नेछ ।

यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ । त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ । नतिजा यूएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत् रहँदै नामिबियामा हुने प्लेअफका लागि जानुपर्नेछ ।

नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउनेछ, किनकि नामिबियाले शीर्ष तीन कब्जा गर्नेछ । नेपालको अन्तिम खेल खेल्नुअघि ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ । यदि खेलमा वर्षा बाधक बने वा एक-एक अंक बाँड्ने अवस्था आए नामिबिया नै क्वालिफायर्स खेल्ने भाग्यमानी बन्नेछ ।

नामिबियाले १९ र नेपालले १८ खेलमा मात्र जित हात पारेका कारण अंक बराबरी भए पनि नेट रनरेटका आधारमा नाबिया जाने हो । जारी सिरिजमा नेपाल अपराजित छ । अघिल्लो खेलमा नेपालले यूएईलाई १७७ रनको कीर्तिमानी रनअन्तरले पराजित गर्दै एकदिवसीय मान्यतालाई २०२७ सम्म निरन्तरता दिन सफल भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल २४८ रनमा अलआउट भएको थियो । जवाफी ब्याटिङ गर्दा यूएई ७१ रनमा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । भोलि (बिहीबार) दुई विकेट लिए सन्दीपले ओडीआईमा सर्वाधिक छिटो ४१ खेलमा एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनेछन् । खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

एघार हजार टिकट बिक्री

नेपाल र यूएईबीच भोलि (बिहीबार) हुने खेलका लागि एघार हजार टिकट बिक्री भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले, टिकट बिक्री बन्द भएको जानकारी दिएको छ । टिकटको अत्यधिक माग भए पनि थेग्न नसक्ने अवस्था आएपछि बिक्री रोकिएको जनाइएको छ । दश हजार अनलाइन र एक हजार फिजिकल टिकट बिक्री भएको हो । क्यानले अतिथिका लागि पाँच सय पास वितरण गरेको छ ।

भोलि (बिहीबार) नेपाली क्रिकेट इतिहासकै सर्वाधिक समर्थक त्रिवि मैदानमा पुग्ने अनुमान छ । उपत्यका बाहिरबाट पनि प्रत्यक्ष खेल हेर्न समर्थक आइरहेका छन् । नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै लिग टूअन्तर्गत पछिल्ला एघारमध्ये दश खेल जितेकाले मैदानमै पुगेर खेल हेर्ने समर्थकको संख्या बढेको हो ।

त्रिवि मैदानको दर्शक क्षमता १४ हजार मानिन्छ । क्यानले भोलिको खेलको टिकटबाट प्राप्त हुने सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने जनाएको छ । सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । नेपाल प्रहरी र एपीएफ गरी करिब डेढ सय सुरक्षाकर्मी त्रिवि मैदानमा खटिनेछन् । बिहान आठ बजेदेखि समर्थकलाई मैदान प्रवेश गराइने क्यानको भनाइ छ । खेल बिहान साढे नौ बजे सुरु हुनेछ ।

    सम्बन्धित समाचार...