२० बैशाख २०८१, बिहीबार

‘प्रसाद- २’ निर्माता थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी, सेन्सर रोक्न बोर्डमा निवेदन

parsad 2

छायांकनको समयदेखि नै विवादमा रहेको फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । प्रसाद २ निर्माणको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले निर्माताको रूपमा परिचय गराएका यो फिल्मका पूर्व निमाता केशव पाण्डेले थापाविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् ।

थापाले फिल्मको निर्माता बनाउने भन्दै पैसा लिएर ठगी गरेको भन्दै पाण्डेले उनी विरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी गरेको आरोप लगाउदै जिल्ला प्रहरी परिसर काठमाडौँमा सोमबार जाहेरी दर्ता गराएका हुन् ।

पाण्डेका अनुसार फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर थापाले उनलाई प्रलोभनमा पारेका थिए । ‘एक वर्षअघि उक्त रकम लगेको तर पटक-पटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेपछि जाहेरी दिन बाध्य भएँ’, पाण्डेले भने ।

रोकिएको फिल्मको काम पाण्डेले अगाडि बढाउने, फिल्मको ९०% अधिकार पाण्डेको हुने कागज समेत भयो। तर थापाले अर्केै निर्माता ल्याएर फिल्म निर्माण गरे पनि पेैसा फिर्ता गरेनन्। पैसा लिएर पछि आफूखुसी फिल्म निर्माण गरेको र पटक-पटक पैसा फिर्ता दिने भन्दै ठगी गरेकाले जाहेरी दर्ता गर्न बाध्य भएको पाण्डेले बताए।

पछिल्लो समय पैसा फिर्ता दिन एक साताको समय मागेको तर तोकिएको समयमा पनि पैसा फिर्ता नभएपछि सोमबार परिसरमा जाहेरी दर्ता गरेको उनले जानकारी दिए।

पाण्डे स्रोतका अनुसार थापाले गत माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चार वटा चेक दिएका थिए । तर साट्न जाँदा खातामा पर्याप्त मौज्दात रकम थिएन । पाण्डेले फिल्मको सेन्सर रोक्नका लागि सेन्सर बोर्डमा समेत निवेदन दिएका छन् ।

    सम्बन्धित समाचार...