८ बैशाख २०८१, शनिबार

विभाजित माओवादीहरू प्रचण्डको नेतृत्वमा एकीकृत हुने सम्भावना छैनः थापा

manichandra thapa

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री मणि थापाले गालीगलौजको राजनीति कम्युनिस्ट आन्दोलनको विडम्बना भएको बताएका छन् ।

‘कम्युनिस्ट आन्दोलन विचार र संस्कार राजनीतिबाट बिस्तारै गालीको स्तरमा ओर्लेको छ । जसले जसलाई गाली गरे पनि हामी अराजनीतिक आरोप र प्रत्यारोपतिर लागिरहेका छौं । यसले कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्छ । कम्युनिस्ट आन्दोलनलाई नै विघटनको दिशामा लान्छ । कतिपय नेता जानेर वा नजानेर विदेशी शक्ति र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन चाहने शक्तिको गोटीका रुपमा प्रयोग भएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै थापाले भने ।

जनयुद्धको भ्रष्टीकरण र माओवादी आन्दोलनलाई अपराधीकरण गर्ने कुरालाई लिएर मात्र पूर्वमाओवादीहरु एक ठाउँमा आएको उनले बताए । बृहत् शान्ति सम्झौतामा दायााबायाँ गरेर पछाडि फर्काउने र मुलुकलाई द्वन्द्वतिर फर्काउने कोसिस भइरहेको आरोप पनि उनले लगाए । उनले भने, ‘नेपालका सबैजसो दलले विगतमा हतियार उठाएका छन्, हिंसा गरेका छन् । कांग्रेसले सशस्त्र क्रान्ति गरेकै हो, एमालेले झापा आन्दोलन गरेकै हो । माओवादीले हतियारबन्द आन्दोलन गरेकै हो । तर माओवादीलाई मात्र दण्ड दिनुपर्छ भन्नु उचित हुँदैन । शान्तिप्रक्रिया नै चारपाँच जना नेताको जुँगाको लडाइँमा पर्नु उचित होइन ।’

पूर्वमाओवादीहरु प्रचण्डको नेतृत्वमा एक ठाउँमा आउने सम्भावना नरहेको पनि थापाले बताए । उनले भने, ‘न पूर्वमाओवादीहरु प्रचण्डको नेतृत्वमा एक ठाउँमा आउने सम्भावना छ, न त एमालेमा टुटफुट हुने स्थिति छ । एमालेमा हामी संघर्ष र सहकार्य सँगसँगै गरिरहेका छौं ।’ एमालेले उपराष्ट्रपतिमा उम्मेदवारी नदिने संकेत पाएको पनि उनले खुलाए ।

संक्रमणकालीन न्यायका निम्ति माओवादी, कांग्रेस र एमालेले समयमै पहल नगरेकाले प्रचण्ड सर्वोच्च अदालतमा जाने परिस्थिति निम्तिएको थापाले बताए । उनले भने, ‘द्वन्द्वका घाउहरुलाई बल्झाउनु सुखद कुरा होइन । पीडितहरु १६ वर्षदेखि न्याय पर्खेर बसेका छन् । कहीं जाने ठाउँ नभएपछि अदालत जाने नै हो । विगतमा पक्ष र विपक्ष भएर लडे पनि सबै नेपाली हुन् । तर यो मुद्दालाई राजनीतिक पार्टीहरुले सत्ताको छिनाझप्टी बनाउनु बेठिक हो ।’

    सम्बन्धित समाचार...