८ बैशाख २०८१, शनिबार

उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

nirbachan aayog nepal

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको छ । आयोगका अनुसार मनोनयन दर्ताको समय बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि तोकेको छ ।

मनोनयन दर्तापछि आजै २ देखि ३ बजेभित्रमा उम्मेदवारहरुको सूची प्रकाशन गर्नेछ । यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने पनि निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय भने भोलि (आइतबार) मध्याह्न १२ बजे गर्ने तालिका सार्वजनिक गरेको छ । यसैगरी आयोगका अनुसार उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आइतबार १२ देखि १ बजेभित्र प्रकाशन गर्नेछ भने उम्मेदवारको नाम फिर्ताको समय १ बजेदेखि साँझ ४ बजेभित्र गर्न सकिनेछ ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने आइतबार साँझ ४ देखि ५ बजेभित्र गर्ने तालिका बनाएको छ । आयोगका अनुसार उपराष्ट्रपति निर्वाचनको मतदान भने चैत ३ गतेका लागि तोकेको छ । मतदानको समय बिहान १० बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ ।1 1678498433

उम्मेदवार छान्न दलहरुको आन्तरिक कसरत

यसैबीच राजनीतिक दलहरु उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धन दलले उपराष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने टुंगो लगाउन सकेका छैनन् । गठबन्धनभित्रकै जनता समाजवादी पार्टी र जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गरेका छन् । जनता समाजवादी पार्टीले सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यता नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि रञ्जिताको उमेर नपुग्ने भएकाले उनी उम्मेदवार बन्ने सम्भावना भने छैन ।

संसद्‌को दोस्रो ठूलो दल नेकपा एमालेले समेत उपराष्ट्रपतिको उम्मेदवार तय गरेको छैन । यसका लागि एमालेले आजै सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले चैत ३ गते हुने चुनावका लागि उपराष्ट्रपति पदको उम्मेदवारी मनोनयन आज (शनिबार) गर्दै छ ।

    सम्बन्धित समाचार...