२० बैशाख २०८१, बिहीबार

नौ दल मिल्नुस् कि दुइटा मिल्नुस्, तात्तिक अर्थ छैन : थापा

Surya Thapa

नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले नौ दलीय गठबन्धन नक्कली भएको आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेस हाम्रो प्रतिस्पर्धी शक्ति हो । तर नौ दल मिल्नुस् कि दुइटा मिल्नुस्, तात्तिक अर्थ छैन । हामीसँग अरु शक्तिको के तुलना हुन्छ ? हिजो गोलाकार हँसिया हथौडामा लडेको बाबुराम भट्टराईजीको पनि छुट्टै दल अरे । यो नक्कली हो, नौटंकी हो । मुख्य कुरा नेपालको राष्ट्रपति अरुले बनाउने हो कि हामीले ? अरुका एजेन्डा बोकेर हिँड्ने भरियालाई राष्ट्रपति बनाउने कि राष्ट्रिय एकता र स्वाभिमानको एजेन्डा लिएर हिँड्ने सुवासचन्द्र नेम्वाङलाई ?’ प्रमुख कुरा यही हो, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै थापाले भने ।

राप्रपाले छाडेपछि एमाले त एक्लियो नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले थपे, ‘तटस्थ बस्ने वा मतदान नगर्ने निर्णयमा म अन्यथा टिप्पणी गर्दिनँ । हिजो हामीले राप्रपा, रास्वपासँग गठबन्धन गरेका थियौं । तर त्यो सधैंका लागि थिएन । राप्रपा छुट्टै पार्टी हो । उसले सार्वभौम निर्णय गर्न सक्छ नि । तर यो एजेन्डा वा पृष्ठभूमिको निर्वाचन पनि हो ।’

उनले पुरानो गठबन्धनको नेता बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले अपहरण गरेको आरोप पनि लगाए । उनले भने, ‘जसलाई हामीले गठबन्धनको नेता बनायौं, उहाँ नै चोरिनुभयो । प्रचण्ड नेपाली कांग्रेसबाट अपहरित हुनुभयो । र, अहिले एक्लै लड्नुपर्ने परिस्थिति बन्यो । राष्ट्रिय सहमति हाम्रो एजेन्डा होइन । एमाले हावादारी एजेन्डा बनाएर हिँड्ने बनावटी पार्टी होइन । सुवासचन्द्र नेम्वाङको नाममा सहमति गरेको भए हामी हामी खुसी नै हुन्थ्यौं । तर प्रचण्डले राष्ट्रिय सहमति नाममा नक्कली बेलुन उडाउनुभयो । हिजो संसदमा जबर्जस्ती नागरिकता विधेयक पारित गर्ने रामचन्द्र पौडेलका नाममा केको सहमति ? कालापानी, लिम्पियाधुरा, लिपुलेकमा अतिक्रमण छ भन्न नसक्नेको नाममा केको सहमति ? उहाँ गठबन्धनको सुँडेनी हुँ भन्नुहुन्छ, उहाँको नाममा केको राष्ट्रिय सहमति ? एमाले फुटाउन हर्कत गरेको मान्छेका लागि केको राष्ट्रिय सहमति ?’

प्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रियालाई सत्ता स्वार्थको सिँढी बनाएको आरोप पनि उनले लगाए । थापाले भने, ‘माओवादी द्वन्द्वमा ज्ञानेन्द्रराज आरणले बुबा र मैले दाजु गुमायौं । ज्ञानेन्द्रजीले अदालतमा मुद्दा हालेर के बिराउनुभयो ? ज्ञानेन्द्रजीले ठीक गर्नुभएको छ । म बधाई दिन्छु । यसमा अनावश्यक रुपमा तरंगित हुनुपर्ने के जरुरी छ ? शान्तिप्रक्रियालाई १७ वर्षसम्म मोलमोलाइ र भागबन्डाको विषय बनाउन मिल्छ ? शान्तिप्रक्रिया भनेको सत्ता स्वार्थको सिँढी हो र ? प्रचण्डलाई सत्ताको स्वाद चाख्न सुरु गरेको हो र ? ५ हजारको जिम्मा लिन्छु भनेर बेला न कुबेला हुँकार गरेर प्रचण्डले आहत परिवारलाई चिढ्याएको होइन ? प्रचण्ड विनाशको बाटोमा हुनुहुन्छ ।’

    सम्बन्धित समाचार...