२३ बैशाख २०८१, आईतवार

तेस्रो राष्ट्रपतिका लागि चौथो निर्वाचन हुँदै आज

rastrapati

आज तेस्रो राष्ट्रपतिका लागि चौथो निर्वाचन हुँदैछ । चुनावी प्रतिस्पर्धामा दुई उम्मेदवार छन् । सत्तारुढ दलका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन् ।

निर्वाचनस्थल सुरक्षाका लागि करिब ९ सय जनशक्ति परिचालन गरेको प्रहरीले जनाएको छ ।

राष्ट्रपतिका लागि फागुन १३ गते उमेदवारी मनोनय गरिएको थियो आज मतदानका लागि बिहान १० देखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ । संसद् भवन नयाँबानेश्वरमा मतदान हुने बताइएको छ ।

मतदानका लागि सातैवटा प्रदेशसभाका सदस्यहरु काठमाडौंमा जम्मा भएका छन् । मतदान गर्न संघीय सांसद र प्रदेशसभा सदस्यहरुका लागि छुट्टा–छुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।

महिला र पुरुषका लागि दुई वटा लाइनको व्यवस्था छ । त्यसैगरी सातै प्रदेशका ५ सय ५० जना प्रदेशसभा सदस्यले पनि एउटै मतपेटिका प्रयोग गर्नेछन् ।

रामचन्द्र पौडेललाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमत पार्टी, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

राजसंस्थाका पुन: स्थापन मुख्य एजेन्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कसैलाई मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने कसलाई मतदान गर्ने भन्ने निर्णय लिन बाँकी छ ।

निर्वाचन कार्यालयले चुनाव सकिएलगत्तै आजै मतगणना गर्नेछ । साँझ सात बजेभित्रै परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगको भनाइ छ ।

निर्वाचनको परिणाम सार्वजनिक लगत्तै नयाँ राष्ट्रपतिलाई आजै प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते राति १२ बजेसम्म रहेकाले त्यसको भोलिपल्ट अर्थात् २९ गते नयाँ राष्ट्रपतिको सपथ ग्रहण र पदभार ग्रहण हुनेछ ।

भण्डारी त्यसैदिन शीतलनिवास छाडेर निजी निवास बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित भङ्गालमा जाने छिन् । सामानहरु भने हिजैदेखि शीतलनिवासबाट सार्न थालिएको छ ।

कति मत पाउँदा बहुमत पुग्छ ?

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा ८ सय ८१ मतदाता छन् । राष्टियसभाका ५९ र प्रतिनिधिसभाका ३ सय ३१ सांसदहरुले मतदान गर्दैछन् भने प्रदेशसभाका ५ सय ५० जना मतदाता छन् ।

प्रतिनिधिसभाका २ सय ७५ सदस्य मध्ये एक रिक्त, एक निलम्वित र एकजनाको मृत्यु भएका कारण तीन सदस्य खाली छन् । चितवन २ का सांसद रवि लामिछाने पदमुक्त भएका छन् भने मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्वित छन् । जसपा सा‌ंसद रहनाज रहनाजको मतदाता सूचीमा नाम रहे पनि मृत्यु भएको छ ।

एकजना संघीय सांसदको मतभार ७९ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपति निर्वाचनको जम्मा मतभार ५२ हजार ६ सय २८ हो । बहुमतका लागि २६ हजार ३ सय १५ कटाउनुपर्नेछ ।

संघीय संसदका ३ सय ३२ सांसदको जम्मा मतभार २६ हजार २ सय २८ भने प्रदेशसभा सदस्य ५ सय ५० को जम्मा मतभार २६ हजार ४ सय रहेको छ ।

राष्ट्रपति पदमा निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने छ । कुनै पनि उमेदेवारले ५० प्रतिशत नकटाएको खण्डमा पुनः मतदान हुनेछ । पुनः मतदानमा ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । दोस्रो पटकमा पनि ५० प्रतिशत नकटाए तेस्रो पटकको निर्वाचनमा धेरै मत ल्याउने उम्मेदवार विजयी हुनेछ ।

    सम्बन्धित समाचार...