१५ बैशाख २०८१, शनिबार

‘अल्पविकसित मुलुकहरूको आर्थिक विकासमा विकसित मुलुकले चालेका कदम प्रभावकारी भएनन्’

nara

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित मुलुकहरूको आर्थिक विकासमा विकसित मुलुकले चालेका कदम प्रभावकारी नभएको बताएका छन् ।

कतारको दोहामा भोलिदेखि हुने अल्पविकसित मुलुकहरूको पाँचौँ सम्मेलनमा सहभागी हुन पुगेका श्रेष्ठले अल्पविकसित देश गरिबी र अशिक्षाको दुष्चक्रबाट कसरी उम्कने भन्ने ठूलो प्रश्न खडा भएको बताए ।

जलवायु परिवर्तन, हरित अर्थतन्त्र, शिक्षा, स्वास्थ्य तथा विज्ञानका क्षेत्रलाई सम्बोधन गर्न विकसित मुलुकहरूको सहायता जरुरी रहेको उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले विश्व आपूर्ति सञ्जालमा देखिएको संकटको सामना गर्न विश्व साझेदारी अपरिहार्य रहेको दोहोर्‍याए ।

नेपालले राष्ट्रिय योजनामा अल्पविकसित मुलुकका लागि तय गरिएका कार्ययोजना समावेश गर्दै आएको उल्लेख गर्दै उनले सन् २०२६ सम्म नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र त्यसबाट पछि नफर्कने बताए ।

भोलि अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपाल, बंगलादेश र लाओसका प्रतिनिधिहरूले आ-आफ्नो मुलुकका आर्थिक एजेन्डा प्रस्तुत गर्ने कार्ययोजना छ ।

    सम्बन्धित समाचार...