३१ बैशाख २०८१, सोमबार

सोलुखुम्बुमा यस वर्षको पहिलो वर्षासहित हिमपात

Solu1677461084

हिमाली जिल्ला सोलुखुम्बुमा यो वर्षकै पहिलोपटक हिउँ परेको छ । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै फाट्टफुट्ट मात्रा वर्षा तथा हिमपात भए पनि सोलुखुम्बुमा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो ।

आज (आइतबार) बिहानैदेखि जिल्लाको मौसममा बदली आएसँगै अपराह्‌नबाट हल्का हिमपात सुरु भएको हो ।

पुसमै पर्नु पर्ने हिउँ फागुन दोस्रो सातामा परेपछि स्थानीय किसान भने खुसी भएका छन् । अहिले जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ ।

जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि कृषक र स्थानीयले भने राहत महसुस गरेका छन् । हिउँ नपर्दा कालापत्थरमा परिणत भएका हिमालहरु आज (आइतबार) भने सेताम्मे देखिएका छन् ।

जिल्लाका पत्ताले, पिके, नाम्चे र खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ । हिउँदयाम हिमपात नहुँदा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरुमा जाडो महसुस हुन थालेको छ । हिमपातपछि हिउँ खेल्नका लागि स्थानीयहरु भेला हुन थालेका छन् ।

यता नाम्चे बजार क्षेत्रमा भने बिहान केहीबेर मात्रै हिमपात भएको थियो । बजारमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ । पानी परेपछि कृषकलाई भने धेरै राहत भएको छ । आलु, मकै तथा गहुँ खेतीका लागि आकासेपानीको भर पर्ने जमिनहरु भिजेपछि कृषक निकै हर्षित भएका छन् ।

    सम्बन्धित समाचार...