५ असार २०८२, बिहीबार

राष्ट्रपतिमा सर्वसम्मत हुँदा राम्रो हुन्छ : प्रधानमन्त्री दाहाल

prachanda 1
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल सहिद तथा बेपत्ताको कार्यक्रममा सहभागी हुन गोरखा पुगेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उनले २५ गतेसम्म राष्ट्रपतिको उम्मेदवारमा सर्वसम्मत हुन सके ‘सो मच द बेटर’ हुने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रम माओवादी जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले नेकपा एमालेसँग पनि निरन्तर सर्वसम्मतिका लागि कोसिस भइरहेको जनाएका छन् । ‘सहमति नभए पनि नयाँ राजनितिक यात्रा स्थायित्व र विकासका लागि अझ सहयोगी हुने मैले विश्वास लिएको छु,’ उनले भने, ‘अर्थतन्त्रलाई संकटमा जान नदिएर सुधार गर्ने दायित्व पनि अहिलेको सरकारको छ ।’

प्रधानमन्त्री दाहालले सुशासन कायम गर्न आफूले उच्चस्तरीय प्रशासनिक सुधार आयोग पनि गठन गर्ने तयारी गरेको आश्वासन दिए । जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदका नाम राजपत्रमा प्रकाशित गरेर सरकारले राष्ट्रिय सहिदको घोषणा गर्ने तयारी गरेको उनको भनाइ छ ।

बारपाक सुलिकोट गाउँपालिका ८, पन्द्रुङ जराङका १० वर्षीय दिलबहादुर रम्तेलको २०५२ फागुन १४ गते प्रहरी चलाएको गोली लागेर मृत्यु भएको थियो । रम्तेललाई माओवादीले जनयुद्धको पहिलो सहिद घोषणा गरेको थियो । रम्तेल स्मृति दिवसकै अवसरमा प्रधानमन्त्री दाहालले दिलबहादुर रम्तेलका बाबु सेते रम्तेल र आमा सरीमायालगायत बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गतका सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे ।

    सम्बन्धित समाचार...