२० बैशाख २०८१, बिहीबार

भोलि सन्दिप लामिछाने युएई जान नपाउने, उच्च अदालतले विदेश जान लगाएको रोक हटाउन सर्वोच्चद्वारा अस्वीकार

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले विदेश जान लगाएको रोक हटाउन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेको निवेदनउपर आज सुनुवाई गर्दै माग बमोजिमको आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश खतिवडाको एकल इजलासले उच्च अदालतको धरौटीमा छाड्न दिएको आदेशउपर महान्यायाधिवक्ता कार्यालयले र बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेले धरौटीमा छाड्न राखेको सर्त हटाउन दिएको दुवै निवेदन एकैसाथ राखेर आइतबारलाई पेशी तोक्न आदेश दिएको छ ।

पेशी आइतबार तोकिएकाले क्रिकेटर लामिछानेको भोलिको युएई भ्रमण रोकिएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजी विरुद्धको एक दिवसीय सिरिजका नेपाली टिम भोलि शनिबार युएई जाँदैछ ।

युएई र पिएनजी विरुद्धको एक दिवसीय सिरिजका लागि आफू पनि युएई जान पाउनुपर्ने भन्दै सर्वोच्चमा लामिछानेको रिट परेको थियो ।

क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसबिरुद्ध लामिछानेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दै उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता सर्तहरू राखेको छ ।

लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदनको निवेदन दिएको छ । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र हरिप्रसाद फुयाँलको इजलासमा आजका लागि तोकिएको भएपनि हेर्न नभ्याइनेमा परेको छ ।

    सम्बन्धित समाचार...