१४ बैशाख २०८१, शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेमाथिको विदेश यात्रा प्रतिबन्ध यथावत

Sandeep Lamichhane

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथिको विदेश यात्रा प्रतिबन्ध यथावत रहने आदेश दिएको छ ।

सन्दीपले हालेको निवेदनमा सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विदेश जान अनुमति दिन अस्वीकार गरेको हो ।

यसअघि उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो ।

नाबालिक बलात्कार आरोपमा पुर्पक्ष थुनामा रहेका उनलाई गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशमा उनलाई विदेश जान रोक लगाइएको थियो । धरौटीमा रिहा भएका सन्दीपले अदालतको उक्त सर्त हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।

थुनामुक्त भएका उनले यही फागुन २ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागिता जनाएका थिए । नामिबिया, स्कटल्यान्ड र नेपालबीचको उक्त त्रिकोणात्मक प्रतियोगितामा नेपालले चारैवटा खेलमा जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले राष्ट्रिय टिममा सानदार पुनरागमन गरेका थिए ।

सोही प्रतियोगिताअन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न जान नपाउने भएपछि सन्दीप सर्वोच्च गएका थिए ।

यता, सन्दीपलाई उच्च अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारले पुनरावेदन गरेको छ । उक्त मुद्दाको पेशी भने आज हेर्न नभ्याइनेमा परेको छ । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो ।