
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्यका लागि सरकारको योजना संसदमा पेस गर्न माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौं उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसदमा पेस गर्न माग गरेका हुन् । उनले ‘खानेपानी राज्यको अभिभारा, एक घर एक धारा’ नारा भएपनि काठमाडौं उपत्यकाको करिब ६५ प्रतिशत घरका धारामा पानी नआउने गरेको उल्लेख गरे । सांसद पौडेलले सरकारले पानी नआउने धारा राखे बापत शुल्क भने नियमित लिइरहेको उल्लेख गर्दै काठमाडौंमा धेरै जमिनमुनीको पानी र ट्याङकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताए ।
सांसद पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको दाबी गरे। ‘सरकारको खानेपानी सम्बन्धमा नारा रहेको छ । ‘खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ । काठमाडौं उपत्यकाको करिब ६५ प्रतिशत घरहरुमा धारा छ तर पानी आउँदैन । सरकारले पानी नआउने धारा राखे बापत शुल्क नियमित लिइरहेको छ ।’ उनले थपे, मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावट छ । अहिले ९ करोड लिटिर पुरानो स्रोतबाट र मेलम्चीको चुहावटबाट बचेको ८ करोड गरी १७ करोड लिटर पानी वितरण हुन्छ । काठमाडौंमा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्छ । खानेपानीको भयावह अवस्थाको अन्त्य गर्नको निम्ति सरकारको योजना के छ ? तत्काल संसदमा पेस गरियोस् ।’
कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरे । उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिएसँगै आर्थिक बेथितिबाट आक्रान्त भएको बताए । आर्थिक संकट मोचन गर्न आर्थिक सुशासन कायम गर्नु ठूल्ठूला भ्रष्टाचार काण्डको छानबिन हुन आवश्यक रहेको उनको जोड थियो ।
नेपाली कांग्रेसकी सांसद नागिना झाले स्थानीय सरकारलाई इन्धनबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन सुझाव दिइन् । उनले इन्धन खर्चको विकल्पमा विद्युतीय सवारीमा प्रयोगमा ल्याउनसके वार्षिक ४ खर्ब रुपैयाँ बचत हुने दाबी गरिन् । यसरी बचत भएको रकम विकास खर्चमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।