२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल ढुक्क, प्रधानमन्त्री प्रचण्डले पनि वचन दिइसकेको खुलासा !

Ramchandra Poudel
फाइल फोटो

निर्वाचनअघिको पाँच दलीय गठबन्धन व्युँतिने भएको छ । सो गठबन्धन व्युँतिएसँगै राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति हुने निश्चित् भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुको बैठक बसेको थियो । सो बैठकले निर्वाचनअघिको पाँच दलीय गठबन्धन व्युँताएको हो ।

राष्ट्रपतिमा कांग्रेस र नेकपा (एस) को दाबी कायमै छ । तर, साँझ ५ बजे बस्ने बैठकमा पावर–सेयरिङबारे सहमति हुने बालुवाटारको दाबी छ । राष्ट्रपति कांग्रेसले लिने सहमति भएको र त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सहमति जनाएको कांग्रेस नेताहरुको दाबी छ ।

राष्ट्रपतिमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने भएको छ । आफू राष्ट्रपति बन्नेमा पौडेलपनि ढुक्क छन् । उनले आफूनिकटका नेताहरुसँग भन्न थालेका छन्–‘राष्ट्रपति हाम्रो पार्टीले पाउने सहमति भएको छ । आज साँझै सबै टुँगो लाग्छ । पार्टीबाट राष्ट्रपतिमा म नै उम्मेदवार हुँ । सबैको सहमति छ । प्रचण्डजीले पनि मेरो नाममा सहमति जनाउनुभएको छ ।’

पौडेल त राष्ट्रपतिमा आफू उम्मेदवार हुँदा नेकपा (एमाले) ले पनि समर्थन गर्ने दाबी गर्न थालेका छन् । उनले यो बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । र, आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार...