१६ चैत्र २०८०, शुक्रबार

चक्रपथ विस्तार गर्न उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतको संयुक्त निरीक्षण

1 171

चक्रपथको दोस्रो खण्ड कलंकी–चाबहिल सडक विस्तारको काम अघि बढाउने पहलस्वरुप उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छन् सङ नेतृत्वको टोलीले संयुक्तरुपमा निरीक्षण गरेको छ ।

उक्त खण्डको सडक विस्तारको काममा भइरहेको ढिलाइलाई तीव्रता दिन बिहीबार बिहान नेपाल सरकार र चिनियाँ अधिकारीले संयुक्त रुपमा निरीक्षण गरेका हुन् । चीन सरकारको अनुदान सहायतामा उक्त सडक खण्ड विस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि चार वर्ष अघिदेखि सडक क्षेत्रले भेट्ने दायाँ–बायाँ तर्फको जमिन खाली गराउने काम हुँदै आएपनि अझै सकिएको छैन ।

दोस्रो खण्डको चक्रपथ विस्तारको काम अघि नबढेपछि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठको नेतृत्वमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि चिनियाँ राजदूत सङ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको टोली निरीक्षणमा सहभागी थियो ।

निर्माणस्थलमा पर्ने सम्पदा, घरटहरा भत्काउन तथा रुख काट्न नसक्दा सडक विस्तार कार्यले गति लिन नसकेको हो । चिनियाँ प्राविधिक टोलीले साइट क्लियर नभएसम्म काम गर्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जनाएको छ ।

सन् २०१८ मा भएको सरकार–सरकारबीच भएको सम्झौतामा कलंकीदेखि बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । चीनले सोही सम्झौताअनुसार बसुन्धारासम्म मात्रै सडक विस्तार गर्ने बताउँदै आएको छ भने नेपाल सरकारले चाबहिलको धोबी खोला पुलसम्मको ११.६ किलोमिटर सडक विस्तार गर्न आग्रह गर्दै आएको छ ।

महाराजगन्जको २४४ मिटर खण्डमा मुख्य समस्या रहेको सडक विभागले जनाएको छ ।

यसअघि, चीन सरकारकै सहयोगमा पहिलो खण्डअन्तर्गत चक्रपथको कलंकी–कोटेश्वर सडक विस्तार गरिएको थियो ।

२०७० सालमा विस्तार सुरु गरिएको उक्त सडक खण्ड २०७५ मा सम्पन्न भइ नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १०.४ किलोमिटर सडक विस्तार गरेको थियो ।

aa

    सम्बन्धित समाचार...