२ जेष्ठ २०८१, बुधबार

पार्टी शक्तिशाली बन्न व्यक्तिवाद, गुटवाद र भ्रष्टीकरणको नियन्त्रण जरुरी : नारायणकाजी श्रेष्ठले

narayan kaji shrestha
फाइल फोटो

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले व्यक्तिवाद, गुटवाद र भ्रष्टीकरणलाई नियन्त्रण गरेर कमजोर बन्दै गएको आफ्नो पार्टीलाई क्रान्तिकारीका रुपमा पुनर्गठन गर्ने बेला आएको धारणा राखेका छन् ।

माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखको सातौं जिल्ला अधिवेशनको सदरमुकाममा मंगलबार उद्घाटन गर्दै उपप्रधान एवं भौत्तिक पूर्वाधार तथा यातायत मन्त्री श्रेष्ठले एकातिर माओवादी केन्द्रले राज्यको, समाजको र नेपाली राजनीतिको नेतृत्व गर्न शक्तिशाली संगठनको भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । उनले केही समययता आफूहरु कमजोर बन्दै गएको पनि धारणा राखे ।

‘वैचारिक सांस्कृतिक रुपान्तरणको ठूलो अभियान अगाडि बढाउन खोज्दै छौं हामी । हाम्रो पार्टीलाई पनि हामीले यथास्थितिमा राखेर हुँदैन । पार्टीलाई वैचारिक र सैद्धान्तिक माथि उठाउने । पार्टी संगठनमा विधि, संस्थागतता र सामूहिक स्थापित गर्ने व्यक्तिगत र गुटवादलाई कमजोर पार्ने र त्यसलाई नियन्त्रण गर्दै जाने । आम भ्रष्टीकरण नेपाली राजनीतिमा छ जो हाम्रो पार्टी र संगठनमा पनि फस्टाउन थालेको छ,’ श्रेष्ठले भने, ‘भ्रष्टीकरणको प्रक्रियालाई नियन्त्रण गर्ने र त्यसलाई सच्याएर रुपान्तरण गर्ने र जनतासँगको सम्बन्ध पुनर्जीवित गर्नुपर्छ ।’

यो व्यवस्था र प्रणालीलाई कुनै पनि हालतमा क्षति नपुग्ने गरी र शान्तिप्रक्रियाको बाँकी कामलाई यो अवधिमा हरहालतमा पूरा गरेर समृद्धिको लक्ष्य हासिल गर्ने गरी अहिले सरकार अघि बढेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

    सम्बन्धित समाचार...