१६ चैत्र २०८०, शुक्रबार

कुनै पनि हालतमा सरकार ढल्दैन : मन्त्री भण्डारी

damodher

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सत्तासीन गठबन्धनको सरकार ढाल्ने योजना कसैले सोचेको छ भने विफल हुने बताउनु भएको छ । 

आफ्नो गृह जिल्ला बैतडीबाट फर्किएका मन्त्री भण्डारीले आज बिहान डडेल्धुरा पुगेर एमाले नेता कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

वर्तमान गठबन्धनबाट निर्माण भएको सरकारका विरुद्ध देशी विदेशी शक्तिहरू जोडतोडका साथ लागिरहेको भएपनि कुनै पनि हालतमा सरकार ढल्न नदिन आफूहरू संयमित भएर लागिरहेको स्पष्ट पार्नुभयो । सरकारका विरुद्ध खुलेयाम रुपमा षडयन्त्र भइरहेको छ र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कुचेष्टाका विरुद्ध सरकार सञ्चालनका लागि निर्माण भएको उच्च राजनीतिक संयन्त्र गम्भीर रहेको बताउनुभयो । 

आर्थिक तरलताका बीचमा सरकारले जनमैत्री र विकासका कामहरूलाई तीव्रताका साथ अघि बढाएर मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन लागिपरेको बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकार गठबन्धन भन्दा बाहिर गएर काँग्रेस नेतृत्वमा बनेको स्पष्ट पार्नुहुँदै मन्त्री भण्डारीले काँग्रेसको मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने र फेरी एक महिना पछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभयो । सुदूरपश्चिम प्रदेशमा निर्माण सम्पन्न भएको लामो समय देखि सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको अवस्थामा यो सरकारले पहिलो प्राथमिकतामा राखेर दशरथ चन्द मेडिकल कलेजको घोषणा गर्दे कलेज र अस्पताललाई एकसाथ सुचारु गर्ने प्रक्रियामा अघि बढिरहेको बताउनुभयो । 

damodar bhandari 1 1

दार्चुलाबाट बग्ने महाकाली नदी कञ्चनपुर आइपुग्दा सम्म भारतीय सीमा नाकासँग जोडिएका महत्त्वपूर्ण नाकाहरूमा ८ वटा पक्की पुल निर्माणका लागी सरकारले प्रक्रिया थालनी गरिरहेको मन्त्री भण्डारीले बताउनुभयो । 

डडेल्धुराको परशुराम नगरपालिकाको परशुराम धामलाई पर्यटकीय धार्मिक स्थलका रुपमा विकास गर्नका लागी परशुरामको बागघाटमा पक्की पुल निर्माण गर्न सरकारले प्रक्रिया थालनी गरेको समेत मन्त्री भण्डारीले प्रष्टयाउनुभयो । कञ्चनपुरमा रहेको दोधारा चाँदनी पुल, दैजी छेला औद्योगिक ग्राम,सुख्खा बन्दरगाह,पहाडी जिल्लामा रहेका खानी उद्योगहरू, एयरपोर्ट, मदन भण्डारी राजमार्ग, महाकाली करीडोर सडक, लगायतका योजनाहरू छिट्टै सञ्चालनमा ल्याउने सरकारको तयारी भइरहेको मन्त्री भण्डारीले बताउनु भएको छ । 

    सम्बन्धित समाचार...