
भगवान् शिवको पुजा आराधना गरि मनाइने महाशिवरात्रिमा तनहुँको भिमाद आसपासका स्थानीयहरू भने माछा मार्ने मेलामा सहभागी भएका छन् ।

परम्परागत रुपमा चल्दै आएको माछा मार्ने संस्कृतिलाई जोगाउन यहाँका स्थानीयहरू माछा मार्न सहभागी भएका हुन् ।
महाशिवरात्रिमा अन्य समयमा भन्दा बढी माछा मार्न सकिने विश्वास यहाँका स्थानीयहरूमा रहेको छिमेकी पालिका घिरिङकी दशमाया थापाले बताउनुभयो । ‘“यो पहिल्यैदेखिको चलन हो”, उहाँले भन्नुभयो “अन्य समयमा भन्दा यो दिन बढी नै माछा पर्छ ।”

थापाका अनुसार खोलामा विष तथा करेन्टको प्रयोगले माछा लोप हुने समस्या भने बढ्दै जान थालेको छ ।

स्थानीय पाण्डु कामीले शिवरात्रिमा माछा मार्ने चलन हिन्दु धर्मसँग सम्बन्धित रहेको बताउनुभयो । शिवरात्रिमा नुहाउनुपर्ने मान्यताले स्थानीयहरू खोलामा नुहाउन आउने र सँगै माछा मार्ने गरेको इतिहास कालान्तरमा संस्कृतिको रुपमा विकास भएको उहाँले बताउनुभयो । उहाँले पुरुषभन्दा महिलाहरू बढी खोलामा माछा मार्न आउने गरेको इतिहासले पनि सरसफाइसँग माछा मार्ने चलन जोडिएको बताउनुभयो ।

बर्सेनि शिवरात्रिमा माछा मार्न खोलामा आउने गर्नुभएका यामबहादुर कुमालले शिवरात्रिमा गाउँलेहरू अनिवार्य रुपमा माछा मार्न आउने गरेको बताउनुभयो । “गाउँमा यो दिन माछा मार्न जानै पर्ने नियमजस्तै छ ।”

यहाँका पत्रकार तथा स्थानीय अमृत परियारका अनुसार शिवरात्रिमा माछा मार्न भिमाद नगरपालिका आसपासका साथै ऋषिङ र घिरिङ गाउँपालिकाबाट समेत स्थानीयहरू आउने गर्दछन् ।

उहाँले यो संस्कृतिको रुपमा विकास हुन थालेको माछा मार्नु चलनलाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार परियारका अनुसार यो दिन धेरै सङ्ख्यामा मानिसहरू उपस्थित हुँदा खोलाको पानी धमिलिएर माछा मार्न सजिलो हुने भएकाले पनि अन्य समयमा भन्दा बढी माछा पाईने गरेको हो ।
