७ जेष्ठ २०८१, सोमबार

तत्काल सरकारमा सहभागी नहुने रास्वपा, चितवन २ मा पुन: लामिछानेलाई उम्मेदवार बनाउ

rasopa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले सरकारसँग भएका पूर्वसहमति कार्यान्वयन नभएसम्म सहभागी नहुने निर्णय गरेको बैठकपछि रास्वपाका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे । सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने उनको भनाइ छ । ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौं । किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौं र सहमति तोडिएको जस्तो आभास भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौं,’ उनले भने, ‘पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौं ।’

उनका अनुसार केन्द्रीय समिति बैठकले वैशाख १० गते हुने भनिएको चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीका तर्फबाट अध्यक्ष रवि लामिछानेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै माघ २२ गते पार्टी कार्यालय बसुन्धरामा अध्यक्ष रवि लामिछानेले गरेको पत्रकार सम्मेलनमा व्यक्त गरेका कुराहरुलाई आत्मसात् गर्ने निर्णय पनि बैठकले गरेको बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० जनाको बनाएको छ । आज नयाँ केन्द्रीय समिति सदस्यका रुपमा १६ जना चयन गरेको हो । मनोनीत हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित विभागलगायत २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन भएका छन् ।

रास्वपाका सभापति लामिछानेको नागरिकता विवादसँगै उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो । यद्यपि सरकारलाई समर्थन भने जारी राखेको छ ।

    सम्बन्धित समाचार...