६ जेष्ठ २०८१, आईतवार

डा. लोहनी भन्छन् – माओवादीको फागुन १ जनहत्या शृंखलाको सुरुआती दिन हो

prakashchandra lohani

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले माओवादीको जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

‘यो निकै दुर्भाग्यपूर्ण निर्णय हो । २०५२ मा शेरबहादुर देउवाजी प्रधानमन्त्री, म परराष्ट्रमन्त्री हुँदा माओवादीले भर्खर सुरु भएको प्रजातान्त्रिक व्यवस्था उल्टाउन ४६ बुँदे माग अघि सारेको थियो । त्यसमा हिन्दु पहिचान र संवैधानिक राजसंस्था फाल्ने वा संघीयता ल्याउने कुनै पनि बुँदा थिएन । १७ हजार नेपाली जनता मरेको दिनलाई धुमधाम मनाउनु भन्ने निर्णय हास्यास्पद हो,’ डा. लोहनीले भने ।

फागुन १ जनयुद्ध दिवसभन्दा पनि जनहत्या शृंखलाको सुरुआती दिन भएको आरोप पनि उनले लगाए । डा. लोहनीले भने, ‘नेपाली जनताले यसलाई जनयुद्ध दिवस मान्दैनन् । मान्नुपर्ने कारण पनि छैन । त्यो जनयुद्ध दिवस होइन कि जनहत्या शृंखलाको सुरुआतको दिन थियो । संसदमा जम्मा ३०, ३२ सिट भएको पार्टीले यस्तो हिम्मत गर्नु भनेको अधिनायकवादी चरित्र हो । अब बेपत्ता आयोगको औचित्य रहेन । अन्तर्राष्ट्रिय समुदायलाई हत्या हिंसा वैधानिक थिए, मारिनु उचित थियो भन्ने सन्देश गयो ।’

राप्रपाले सार्वजनिक बिदालाई गम्भीरतापूर्वक लिएको पनि उनले बताए । डा. लोहनीले थपे, ‘मन्त्रिपरिषद् बैठकको निर्णयमा हाम्रो पार्टीका माननीय मन्त्रीज्यूहरुको सहभागिता छैन । यसबारे बैठक बसेर पार्टी ठोस निर्णयमा पुग्छ ।’

भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका क्रममा दुई देशबीच सकारात्मक वार्ता हुने विश्वास पनि डा. लोहनीले व्यक्त गरे । उनले थपे, ‘जोसँग बढी सम्बन्ध हुन्छ, झगडा पनि उसैसँग हुन्छ । कतिपय कुरामा मन मिल्छ, कतिपय कुरामा मिल्दैन । मित्रहरुको बीचमा मनमा केही रहनुहुन्न । सफा दिलले वार्ता हुनुपर्छ ।’

    सम्बन्धित समाचार...