६ जेष्ठ २०८१, आईतवार

नेकपा एमालेले संगठनात्मक सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

UML Sachibalaya

नेकपा एमालेले संगठनात्मक सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुईमहिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘मिसन ग्रासरुट’ नाम दिइएको अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउन अभियान सञ्चालन हुन लागेको जनाए । अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहलाई पालिकाहरुमा खटाइने उनको भनाइ छ ।

केन्द्रीय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिनेलगायत ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे । अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा सुरु हुनेछ ।

‘पार्टीमा वैचारिक, संगठनात्मक सुदृढीकरण र विस्तारका लागि आगामी फागुन र चैत दुई महिना विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । मिसन ग्रासरुट अर्थात् जगैदेखि पार्टीलाई मजबुत गर्ने उद्देश्यका साथ यो अभियान दुई महिना सञ्चालन हुनेछ । दुई महिनाभर हाम्रो पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरु विभिन्न पालिकाहरुमा खट्नुहुनेछ,’ उनले भनेका छन्, ‘उहाँहरुलाई ११ वटा काम तोकिएको छ । पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिनेलगायत ११ कार्यादेश तोकेर उहाँहरुलाई पठाएका छौँ । विधिवत् थालनी फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट सुरु हुनेछ । सातै प्रदेशमा एक/एक उपाध्यक्ष जानुहुन्छ ।’

बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी विन्दा पाण्डेलाई दिएको छ ।

त्यसैगरी पार्टीको अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । सञ्चारकर्मीहरुको जिज्ञासको जवाफ दिँदै उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोसिस जारी रहेको जानकारी दिए । उनले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिए ।

त्यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोसिस जारी भएको उनको भनाइ छ । फरक-फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीहरुलाई समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुखद् विषय हो । यसमा समीक्षा हुँदै गर्ला । बाहिर देखिने कारण त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनःप्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटीहरु गर्नुभएको कारणले उहाँले पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ । तरपनि हामीले पुस १० गते यो नयाँ कोर्ष निर्माण गरिरहँदा र पछि मन्त्रिमण्डल बिस्तार गरिरहँदाखेरी जुन ढंगले शक्तिको बाँडफाँड गरेका थियौँ, त्यस हिसाबले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो भन्ने हामीलाई लाग्छ,’ उनले भने ।

उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । एमालेले गठबन्धन टिकाउने संकल्प गरेको पनि उनको भनाइ छ । ‘त्यसो गरेर भए पनि उहाँहरुलाई सरकारमा होल्ड गरिराख्नुपर्थ्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरुको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो । त्यसलाई आधार बनाएर उहाँहरु बाहिरिनुभएको छ । तर बाहिरिए पनि उहाँहरुको भनाइ छ, सरकारलाई दिएको विश्वास, समर्थन कायम नै छ । हाम्रो तर्फबाट उहाँहरुलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने हाम्रो कोसिस जारी छ,’ उनले भने, ‘अहिले सरकारभन्दा बाहिर रहनुभएका जसपा र नागरिक उन्मुक्तिलाई पनि उहाँहरुका कतिपय कन्सर्नहरुलाई सम्बोधन गर्दै सरकारमा ल्याउने प्रयास जारी छ । भिन्नभिन्न दलहरुको बीचमा बनेको गठबन्धन भएको हुनाले कतिपय प्रश्नहरुमा असझदारी उत्पन्न हुनु अनौठो होइन ।’

    सम्बन्धित समाचार...